माओवादी नेताहरूबीच कार्य विभाजनबारे आन्तरिक छलफल

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) पार्टी नेताहरूको कार्य विभाजनका लागि आन्तरिक छलफलका जुटेको छ ।
आइतबार अपराह्न पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बदलिँदो परिस्थितिअनुसार पार्टीका प्रदेश इन्जार्च र विभागहरूको कार्य विभाजन गर्ने विषयमा छलफल प्रारम्भिक गरिएको हो । विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढंगले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा छलफल गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको कार्य विभाजन र पार्टीको चैत्र १ गतेबाट सुरु हुने तराई–मधेस जागरण अभियान, पूर्वपश्चिम, उत्तरदक्षिणका अभियान, प्रदेशमा आफ्नो सापेक्षतामा अभियानहरू सञ्चालनका लागि मार्ग चित्र बनाउन पनि नेताहरूलाई निर्देशन दिएका थिए । नेताहरूको कार्य विभाजन र पार्टीको आगामी योजना तथा कार्यक्रमको बारेमा गृहकार्य गर्न पनि पार्टीले अध्यक्ष दाहालेले आफूहरूलाई दुई दिन समय दिएको र मंगलवार बिहान साढे ८ बजे बस्ने पार्टी स्थायी कमिटी बैठकमा त्यसबारे विस्तृत छलफल हुने पनि प्रवक्ता सापकोटाले बताए ।
उनले भने ‘यो स्थायी कमिटी बैठकको सबैभन्दा मुख्य एजेण्डा चाहिँ नयाँ परिस्थिति अनुसार, नयाँ कार्यभार अनुसार, नयाँ कार्य विभाजन । खासगरी प्रदेश इन्चार्जहरू जिम्मेवारी र अन्य विभाग सबैको जिम्मेवारीहरु निश्चित गर्ने कुरा छ । र, त्यसको लागि अहिले व्यापक रुपमा गृहकार्य पनि भएको छ । अझ भनौँ–पार्टपार्टमा बैठकहरू भइरहेका छन । स्थायी कमिटीका कमरेडहरूको बीचमा पनि छलफल भइरहेको छ । पदाधिकारीहरूको बीचमा पनि छलफल भइरहेको छ । अध्यक्षले पनि व्यापक अन्तरक्रियाहरू गरिराख्नुभएको छ । अब पहिलो कुरा कार्य विभाजन छ । त्यो अलि वैज्ञानिक, बस्तुवादी र अलि प्रभावकारी होस भन्ने छ । दोस्रो कुरा चाहिँ अभियान जुन हामीले चैत्र १ बाट सुरु गर्दैछौं । त्यसलाई अझ प्रभावकारी बनाउनका लागि हामी जनतामा जाने धेरै कुराहरू भएका थिएन । अब चाहिँ वृहत जनपरिचालन । सभाहरू, कोणसभाहरू गरेर जनतामा नै जाने भनेर हामीले तराई मधेश जागरण अभियान अनि त्यसपछि पूर्वपश्चिम, उत्तरदक्षिणका अभियानहरू, प्रदेशमा आफ्नो सापेक्षतामा अभियानहरू भनेका छौं । त्यसको बारेमा पनि वृहत मार्गचित्र बन्दैछ । पूरै योजना बन्दैछ । र, मुख्यतः कार्यविभाजका लागि त हाम्रो पार्टपार्टमा छलफल भइरहेको छ । अध्यक्षले वान टू वान पनि छलफल गरिरहनुभएको छ । त्यसका साथसाथै हाम्रो पदाधिकारीहरूको बीचमा पनि र अहिले भर्खरै स्थायी कमिटीको संक्षिप्त बैठक बसेको थियो । त्यो बैठकमा पनि हामीलाई उहाँले गृहकार्य दिनुभएको छ । कार्य विभाजनको सवालमा, आगामी योजना तथा कार्यक्रम निर्माणको सवालमा पनि । उहाँले पर्सी साढे ८ बजेसम्मका लागि गृहकार्य गर्नका लागि भनिएको छ । फेरि अर्कोतिर के छ भने सरकारका कामहरु पनि अलि घनिभूत भइरहेका छन् । सदन पनि चलिरहेको छ । अरु कामहरूको पनि बढी नै चाप भएको हुनाले यता पनि स्थायी कमिटीले काम गरिरहने, उता सरकारको काम पनि भ्याउनुपर्ने । यी सबैका बीचबाट हामीले पार्टपार्टमा बैठक गर्नेगरी आज र भोली व्यापक गृहकार्य गरेर पसी साढे ८ बजे बस्नेगरी अहिलेको बैठक स्थगित भएको छ ।’
प्रवक्ता सापकोटाले बालकुमारी घटनाका छानबिन समितिको प्रतिवेदनबारे भने आजको बैठकमा छलफल नभएको पनि बताए ।








