अग्नि सापकोटाको दाबी–जनताले गणतन्त्रको विकल्प खोजेका छैनन्

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ उनले सो दाबी गरेका हुन् ।

प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेलको रुपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्दै त्यसलाई अझ बढी उन्नत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

‘म के भन्छु भने धेरै ठूलो कुर्वानी गरेर हामीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता अनि त्यस्तै गरेर समानुपातिक समावेशी सिद्धान्त, जो ल्याएका छौ । यो धेरै ठूलो कुरो छ । धेरै महत्वपूर्ण कुरा छ’उनले भने ‘यो नेपाल राष्ट्रका लागि मात्रै नभईकन विश्वकै लागि एउटा मोडेल छ । यसलाई धुमिल पार्नका लागि, यसलाई ओझेलमा पार्नका लागि पछाडि फर्काउन दुष्प्रयासहरु भइरहेका छन ।’

उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए ।

‘मलाई के लाग्छ र म तपाईहरु स्पष्ट रुपमा भन्न चाहन्छु कि यो इतिहासको चक्का पछाडि फर्कन सक्दैन । निरन्तर निरन्तर अगाडि बढिरहन्छ । र नेपाली जनताले त्यो चाहेका पनि छैनन् । र त्यो दिशामा हामीले गर्दै पनि आएका छौं । तपाईहरुकै सहयोगले भनौन–ठूलाठूला प्रतिगमनका हर्कतहरु पराजित हुँदै आएका छन् उनले भने ‘अब पनि मलाई के लाग्छ भने नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्, उन्नत लोकतन्त्र खोजेका छन । नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् । यो गणतन्त्रलाई अझ अग्रगामी, अझ समृद्ध बनाउनका लागि नेपाली जनताले माग गरेका छन् ।’

प्रवक्ता सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धुमिल बनाउने कुनैपनि दुश्प्रयासहरु सफल नहुने पनि बताए ।

‘अझ स्पष्ट शब्दमा भन्दाखेरी सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा हो । त्यहीअनुसार सबै राजनीतिक पार्टीहरुले राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ । र साझा सवाल हो । यसमा सबै अग्रगमनका पक्षधरहरु, परिवर्तनका पक्षधरहरु एक ठाउँमा आउनु पर्छ भन्ने मलाई लाग्छ’ उनले थपे ‘तपाईको प्रश्नमा यो एकातिर लोकतन्त्रवादीहरुसित जो अग्रगमनका पक्षमा थिए, तिनीहरुसित सहकार्य र वृहत वामपन्थी एकीकरण । अनि, त्यसको साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठन अहिलेको नेपालको अपरिहार्य आवश्यकता हो ।’

प्रवक्ता सापकोटाले मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन अग्रमगनका पक्षधर शक्तिहरुबीच सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =