शिक्षा सुधारे विमानस्थलको भीड घट्छ : शिक्षाविद् डा. केसी

बलेवा (बागलुङ) । ‘हाम्रो शिक्षामा कमीकमजोरी छन् । शिक्षाले देशको भूमि हिमाल, पहाड र तराई जोड्न सक्नुपर्छ’ यो भनाइ शिक्षाविद् डा राजेन्द्र केसीको हो । शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नुपर्ने उनको भनाइ छ ।

‘हिजोआज समाचारमा त्रिभुवन विमानस्थल, विप्रेषण र रोजगारीको क्रममा अलपत्र परेका, विदेशमा मृत्यु भएका समाचार धेरै आउने गरेका छन्’, शिक्षाविद् केसीले भने, ‘युवापुस्ता विदेशिने क्रम बढ्नु, हाम्रो शिक्षा प्रणालीले रोजगारी पाउने खालका जनशक्ति उत्पादन नगर्नु नै हो । ती समाचारका कारण पनि शिक्षा प्रणाली हो ।’ शिक्षा प्रणाली सुधार गरी व्यावहारिक र रोजगारमुखी शिक्षा दिन सके विमानस्थलको भीड घट्ने उनले दाबी गरे ।

बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तेस्रो दिन ‘राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन’ सम्मेलन आयोजना भएको थियो । सम्मेलनमा केसीलगायत शिक्षा क्षेत्रका जानकारको उपस्थिति थियो । सम्मेलनमा आएका धेरैले शिक्षा प्रणालीका कारण युवा विदेश जान बाध्य भएका भन्दै चिन्ता व्यक्त गरे ।

‘नेपालीले एक सय ७१ देशमा काम गरिरहेका छन् । तर आफैँ देश बनाउन काम गरेनन्’, केसीले भने, ‘अहिले दैनिक युवा विदेशिरहेका छन् । मुलुकका १८ विश्वविद्यालय खाली हुँदै गएका छन् ।’

शिक्षालाई सीप र सीपलाई स्वरोजगारीसँग जोड्नुपर्ने तर्क पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा प्रेमनारायण अर्यालले गरे । ‘हामीले विद्या दिएनौँ । शिक्षा दिन थाल्यौँ । विद्या दिएको भए नम्र र चरित्रवान हुने थिएँ,’ उनले भने, ‘शिक्षालाई सीपसँग जोडनुपर्‍यो । विद्या र शिक्षालाई सँगसँगै लैजाने शिक्षा प्रणालीको विकास गर्नुपर्छ ।’

अर्यालले राजनीति भनेको राम्रो नीति बनाउने भए पनि झगडा गराउने नीति जस्तो बनाइएको बताए । ‘राजनीति भनेको राम्रो नीति हो । उच्चतम नीति हो । यहाँ राजनीति भनेको झगडा गराउने नीति भएको छ’, उनले भने ।

विश्वविद्यालय राजनीतिक भर्ना केन्द्रका रूपमा विकास भएकामा अर्यालले चिन्ता व्यक्त गरे । तोडफोड र अनुशासन उलङ्घन गर्नेहरू नै नीति बनाउने ठाउँमा पुग्ने गरेका उनको जिकिर थियो ।

धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा रामप्रसाद उपाध्यायले मातृभाषा र स्थानीय पाठ्यक्रमलाई कार्यान्वयन गर्न नसक्दा विद्यार्थीलाई मुलुकमा रोक्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे । समय र सन्दर्भ अनुसार पाठ्यक्रम परिवर्तन गरेर जनशक्ति सीप सिकाएर लाई यही प्रयोग गर्नुपर्ने उनको धारणा छ ।

सम्मेलनमा प्राध्यापक डा विद्यानाथ कोइरालाले सोच एउटा बोक्ने काम अर्को गर्ने प्रवृत्तिका कारण वर्तमान शिक्षा प्रणालीमा समस्या देखिएको बताए । उनले विशवविद्यालयका प्रमुखमा अन्तरदलीय चिन्तन बनाउन नसक्दा समस्या भइरहेको उल्लेख गरे ।

‘अन्तरदलीय सरकार हुन्छ’, प्रा डा कोइरालाले भने, ‘अन्तरदलीय चिन्तन बनाउने नेतृत्व हुँदैन । समस्या त्यहीबाट भइरहेको हो ।’ उनले अहिलेका बालबालिकाको शक्ति प्रविधि भएकाले प्राविधिक शिक्षामा बढी जोड दिनुपर्ने बताए ।

‘अहिलेका बालबालिकालाई प्रविधिसँग अभ्यस्त बनाउने किसिमको शिक्षा दिनुपर्छ । अलिकति किताबसँग, अलिकति जिन्दगीसँग र अलिकति आफ्नै अनुभूतिसँग जोडिदियो भने गतिलो अनुसन्धानकर्ता बन्छन् । अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय जगतमा काम गरेर मनग्य आम्दानी गर्न सक्छन्’, प्रा डा कोइरालाले भने, ‘अहिले पुस्तक बोकेर हिँड्ने भन्दा पनि ज्ञान कम्प्युटरमा सबै हुन्छ । यसलाई प्रभावकारी रूपमा प्रयोग गर्न सिक्नुपर्छ । शिक्षक र शिक्षामा लाग्नेले यसको प्रयोगमा ध्यान दिनु आवश्यक छ ।’

संस्कारसहितको शिक्षा अभियन्ता अन्जु भट्टराईले अहिले संस्कारसहितको शिक्षाको आवश्यकता रहेको बताए । उनले नयाँ लक्ष्य, उद्देश्य र संस्कारसहितको प्रविधिसँग जोड्ने शिक्षा दिनु अहिलेको आवश्यकता रहेको बताए ।

मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भइरहेको छ । यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा दैनिक विविध कार्यक्रम र सम्मेलन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *