कला र साहित्यको सङ्गम ‘कालो सूर्य’

काठमाडौँ । अग्रज साहित्यकार भरत जङ्गमको भ्रष्टाचारसम्बन्धीको उपन्यास ‘कालो सूर्य’ (२०३६) माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी आजदेखि काठमाडौँमा सुरु भएको छ ।

पाँच दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकार इन्दु पन्तले उपन्यास कालो सूर्यका भावहरूलाई २५ चित्रमा उतारेकी छिन् । उनीले भ्रष्टाचारका विषयमा लेखिएको उपन्यासका घटना–परिघटनालाई चित्र बनाएर पस्किएकी छिन्, जुन १५ भाषामा प्रकाशित भइसकेको उपन्यासलाई उनीले अब भाषाविहीन बनाइदिएकी छिन् । अब विश्वका जो सुकैले पनि चित्रमार्फत भ्रष्टाचारविरुद्धको भाव बुझ्न सक्नेछन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आज नेपाल कला परिषद्मा ‘कला र साहित्यको सङ्गम : कालो सूर्य’ विषयक चित्रकला प्रदर्शनी उद्घाटन गर्दै कालो सूर्यले विश्वव्यापी रूपमा प्रभाव पारेको र नेपालीत्वको परिचय पनि विश्वमा पुर्‍याउन सफल भएकामा प्रशंसा गरिन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्ययले कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’ र सर्जक भरत जङ्गमको ‘सेतो सूर्य’ले एउटै कुरा बोलेको र प्रख्यात रहेको सुनाउँदै भ्रष्टाचार नियन्त्रणका लागि सुरुमा आफैँलाई सफाइ गर्नुपर्ने बताइन् । चित्रकार इन्दु पन्तले कलामार्फत जीवन्त बनाएकी बताउँदै उनीले भनिन्, ‘भरत जङ्गमको लेखन र इन्दुको रेखा र चित्र छन्, तिनले विश्वमै भ्रष्टाचारविरुद्धको कुरा बोलिरहेको छ, उपन्यासलाई कलाले झन् जीवन्त पारिदिएको छ ।’

चित्रकार इन्दु पन्तले सर्जक जङ्गमगमले २०३६ सालमा लेखेकी कालो सूर्य उपन्यास अहिलेसम्म १५ भाषामा प्रकाशित भइरहेको र त्यही पुस्तकलाई चित्रात्मक रूपमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन् ।

अहिलेसम्म कलाकार पन्तले तीनवटा एकल प्रदर्शनी गरिसकेकी छिन् । जारी प्रदर्शनीमा कालो सूर्य पुस्तकमा आधारित २५ र अन्य दुईसहित २७ वटा चित्र प्रदर्शनीमा समावेश गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *