काठमाडौंका सडकमा ‘एआई’को निगरानी

काठमाडौं । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ ।

अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौं उपत्यकामा भित्रिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अत्याधुनिक क्यामेराको प्रयोग थालिएको छ । अब एआई (आर्टिफिसियल इन्टेलिजेन्स)मा आधारित सिसिक्यामेराले काठमाडौंका सडकको निगरानी गर्नेछ ।

मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ । सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूमपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ । अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ ।

आधुनिक प्रविधियुक्त उक्त क्यामेराले गाडीको नम्बरप्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्बरमा पठाउने हुँदा ट्राफिकिङमा यसले ठूलो सहयोग गर्ने विश्वास गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए । ‘मानौं कुनै गाडी दुर्घटना गराएर भाग्यो, त्यसको रङमात्रै थाहा भयो, तर नम्बरप्लेट पहिचान भएन भने उक्त क्यामेराले त्यो बाटो भएर गएको गाडीको नम्बरप्लेट रिड गरेर राख्छ र सर्वरमा पठाउँछ । त्यसपछि त्यो रङको सबै गाडीको नम्बर पहिचान हुन्छ, अनि यातायातसँग समन्वय गरेर गाडीधनीसम्म पुग्न सकिन्छ,’ मैनालीले भने ।

एआईमा आधारित सिसिक्यामेराको जालोबाट फरार व्यक्ति र शंकास्पद सवारीसाधन फुत्किन गाह्रो हुनेछ  । ‘मनिसले सत्य नबक्न पनि सक्छ, तर प्रविधि र प्रमाणले सत्य बक्नै पर्छ, त्यसकारण तथ्यमा आधारित भएर प्रमाण जुटाउन यसले सहयोग गर्छ,’ प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले थपे, ‘आधुनिक प्रविधि भएकाले नेपाली र इम्बोष्ट नम्बरलाई पनि क्याप्चर गर्छ ।’

काठमाडौंको ९ स्थानमा एनपिआर क्यामेरा जडान गरिएका छन् । सानेपा, कोटेश्वरको अकासेपुल र ललितपुरको महालक्ष्मीस्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा एनपिआर क्यामेरा जडान भएको हो । काठमाडौंको तिनकुने, महाराजगन्ज, नयाँ बसपार्कमा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालयको सहकार्यमा जडान भएका हुन् ।

नैकाप चोक, थानकोट खरीबोट र हाइभिजन कोलोनीमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा जडान गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा १ सय ७० वटा राख्न लागिएको छ । फेसरिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) १ सय ५० स्थानमा जडान गरिएको छ ।

फेसरिड क्यामेराले अपराधी पत्ता लगाउन सहज हुनेछ । हराएको कुनै व्यक्तिको फोटो सेट गरेको खण्डमा उक्त क्यामेराले त्यो व्यक्ति त्यस क्षेत्रमा पुगेको फेला पारेमा रिड गरेर पठाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *