कालिञ्चोकमा पर्यटकको घुइँचो, कोरोनापछि फस्टायो व्यवसाय (तस्बिरसहित)

काठमाडौं । दोलखा जिल्लाको कालिञ्चोक गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । विशेष गरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ ।

यहाँको प्राकृतिक रमणीय दृश्यले जो-कोहीलाई मन्त्रमुग्ध बनाउँछ । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने मनमोहक प्राकृतिक सौन्दर्यकै कारण केही वर्षदेखि कालिञ्चोक भगवती हिन्दु धर्मावलम्बीका लागि एक प्रसिद्ध तीर्थ स्थलको रूपमा विकास हुँदै गएको छ । समुद्री सतहभन्दा तीन हजार ८ सय ४२ मिटर उचाइमा रहेको यो क्षेत्रमा दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको छ ।

कालिञ्चोकको प्रमुख आकर्षण कालिञ्चोक भगवती तीर्थ नै हो । कालिञ्चोकमा सबैभन्दा उच्च बिन्दुमा रहेको ठाडो पहाडको माथि कालिञ्चोक भगवतीको मन्दिर छ । त्यहाँ आफैँ उत्पन्न भएको शिव–पार्वती कुण्ड मन्दिर यहाँको प्रमुख विशेषता हो ।

‘कालिञ्चोकको विशेषता भनेको यहाँको कालिञ्चोक माताको मन्दिरको हो, यो आज भन्दा धेरै पहिला भेडा गोठालोले पत्ता लगाएको भन्ने छ,’कुरीमा होटेल व्यवसाय गर्दै आएका किशोर पाख्रिनले मकालुखबरसँग भने ‘यो मन्दिरमा विभिन्न शुद्ध दूध, शुद्ध घिउ, सँगै धामी झाँक्रीहरूले लेकको धूपबत्ती बालेर पूजाआजा गर्ने ठाउँ हो ।’

कोरोनापछि फस्टायो व्यवसाय
कोरोना महामारीपछि कालिञ्चोकमा पर्यटकहरू बढेका छन् । उसै पनि यहाँ मान्छेहरूको भिड नै हुने गर्दछ । तर कोरोना महामारी र आर्थिक मन्दीको कारण कालिञ्चोक एकताका सुनसान थियो । तर पछिल्लो समय यहाँ आर्थिक र पर्यटन व्यवसायको चहलपहल पनि बढेको छ ।

उसो त, कालिञ्चोक भगवती दर्शन गर्न भक्तजन बाह्रै महिना आउन गर्दछन् । होटेल व्यवसायी पाख्रिनका अनुसार, पुसदेखि फागुनसम्म हिमपात हुने महिना हो । यही महिना कालिञ्चोक जाने सबैभन्दा उत्तम महिना रहेको उनी बताउँछन् ।

चैत, वैशाख र जेठमा भने आफ्नै महत्त्व छ । यति बेला हरियाली हुन्छ, लालीगुराँस लगायत फूल फुल्छन् । यहाँ आउने सबैले प्राकृतिक सौन्दर्यतालाई नजिकबाट नियालेर रमाइलो मान्छन् । विशेष गरी जनै पूर्णिमाका दिन ठूलो मेला लाग्ने यस क्षेत्रमा बडा दसैँमा देवीको दर्शन गर्न निकै भीड हुन्छ ।

पाख्रिन भन्छन्, ‘कात्तिक महिना देखि सुरु भई वैशाख सम्म मानिसहरूको घुइँचो लाग्ने गर्दछ । विशेष गरी कालिञ्चोक मन्दिरमा जनै पूर्णिमा, अष्टमी र वैशाख १ गते नयाँ सालको दिन विशेष गरी धेरै भक्तजनहरूको भिड लाग्ने गर्दछ । त्यसै गरी सिजन भनेको यहाँ ६ महिना सिजन र ६ महिना असिजन हुन्छ । ६ महिना जति कमाई हुन्छ त्यतिले ६ महिनाको खर्च गर्ने गरिन्छ ।’

कोरोनाको महामारी पछि खुलेको पर्यटन चहलपहलपछि पाख्रिन ६ महिनाको यो सिजनमा मात्रै १५ देखि २० लाखसम्म कमाइ हुने बताउँछन् । ‘पहिलेको वर्ष भन्दा अहिलेको वर्ष हिउँ धेरै परेको हुनाले मानिसहरू धेरै आउने गरेका छन्’ उनले भने ‘कार्त्तिकदेखि वैशाख सम्म ६ महिनामा १५ देखि २० लाख सम्म कमाइ हुने गर्दछ । कालिञ्चोकमा व्यवसाय गरेर म सन्तुष्ट सन्तुष्ट छु ।’

कालिञ्चोक प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय स्थल भए पनि यस क्षेत्रमा भौतिक सेवा-सुविधाको व्यवस्थापन गर्न नसक्दा विदेशी पर्यटक आउन नसकेको यहाँका पर्यटन व्यवसायीको गुनासो छ ।

कसरी जाने ?
काठमाडौंबाट कालिञ्चोक पुग्न गाडीमा करिब पाँच घण्टा लाग्छ । त्यसपछि केबलकार चढेर पाँच मिनेटमै मन्दिर पुगिन्छ । सोही दिन दर्शन गरेर फर्कन पनि सकिन्छ । दोलखाको चरिकोट बजारको उत्तरपूर्व १८ किलोमिटर सडक पार गरेपछि कुरी बजार पुगिन्छ ।

काठमाडौँदेखि कालिञ्चोक भगवतीको दर्शन गर्न भक्तजनहरू कुरीबाट केबलकार नचढी सहजै भगवतीको मन्दिरसम्म पुग्ने भएकाले पनि यात्रा छोटो र सहज छ । यति मात्र होइन, त्यहाँ पुग्ने पर्यटकले विश्वकै प्रसिद्ध हिमालहरू गौरीशंकर, दोर्जे-लाक्पा, लाङटाङ, लिरुङ लगायतको मनमोहक दृश्य क्यामेरामा सजिलै कैद गर्न सक्छन् । कालिञ्चोक भगवतीको दर्शनले मनोकाङ्क्षा पूरा हुने, निरोगी हुने, परिवारमा सुख-समृद्धि हुने, शत्रु पराजित हुने विश्वास छ । हरेक वर्ष जाडो याममा विशेष गरी नेपाल र भारतबाट भक्तजन आउने गर्दछन् ।

‘धार्मिक रूपले भन्नु पर्दा सन्तानहरू नहुने, धन सम्पत्ति नहुनेहरूले यहाँ आएर माग्यो भने पुरा हुने भक्तजनहरूले मागेको कुराहरू पुरा हुन्छ भन्ने विश्वास छ । जसले गर्दा मानिसहरु यहाँ आउने गर्दछन्,’पाख्रिनले मकालुखबरसंग भने ‘यहाँ आउने भक्तजनहरूको भनाई अनुसार यहाँ मागेका कुराहरू सबै पुरा भएको छ, त्यसले गर्दा पनि मानिसहरु विभिन्न आस बोकेर यहाँ आउने गर्दछन् । सबै भक्तजनहरूले सोचेका मागेका कुराहरू पुरा हुने गर्दछ त्यसैले कालिञ्चोक भगवती मन्दिर चर्चित भएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *