गणतन्त्र मुलुकका लागि असान्दर्भिक भइसक्यो : राजेन्द्र लिङदेन (भिडिओ)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको टिप्पणी गरेका छन् ।

विगत १५ वर्षको अभ्यासले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकलाई असफल भइसकेको प्रमाणित भएको उनको जिकिर थियो ।

शनिवार काठमाडौँमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले देशलाई अब थप क्षति हुन नदिनका लागि पनि ठूला राजनीतिक दलहरू मुलुकमा राजासहितको लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा आउन सहमत हुनुपर्ने दोहोर्याए ।

उनले आफ्नो पार्टीले मुलुकलाई पछि फर्काउने नभई नयाँ बाटोमा अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसका लागि तयार हुन पनि ठूला राजनीतिक दलहरूलाई आग्रह गरे ।

अध्यक्ष लिङदेनले भने ‘हाम्रो विगत १५ वर्षको अभ्यासले प्रमाणित गर्यो–गणतन्त्र मात्रै होइन, गणतन्त्र, धर्म निरपेक्षता, संघीयता हाम्रो देशको सन्दर्भमा अनुपयुक्त रहेछ भन्ने मात्रै होइन, असफल भएको छ । देशलाई थप क्षति हुन नदिनका लागि, बलियो राष्ट्रियताको लागि पहिलो कुरा त मेरो आग्रह छ–ठूलो राजनीतिक दल हौँ भन्ने गणतन्त्रको संवाहक हुँ भन्नेहरूले कोर्स करेक्सन गर्न तयार हुनुपर्यो, नयाँ सम्झौताका लागि तयार हुनुपर्यो । राप्रपाले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता भएन भनेको हामीले पछाडि फर्किऊँ भनेको होइन । त्यो बुझ्नुभएन । हामीले पछाडि फर्कने कुरा गरेको होइन । तर यही बसिराख्न पनि सकिन्न । अब देशले यो धान्न सक्दैन । अब हिजोका पनि राम्रा, आजको पनि राम्रा कुराहरू समेटेर अब नयाँ सम्झौतामा जानुपर्यो । र हामीले नयाँ बाटो तयार पारेर अगाडि जानुपर्यो भनेर राप्रपाले भनेको हो । त्यसकारण हामीले पछाडि फर्कने कुरा गरेको छैनौँ । र यही बस्न पनि हामी मन्जुर छैनौँ । अब देशलाई नयाँ बाटोमा लैजानुपर्छ । जहाँ अब माओवादीदेखि राजासम्मसँगै रहने व्यवस्था अब हामीले निर्माण गर्नुपर्छ ।’

अध्यक्ष लिङदेनले यथास्थितिमा आफूहरू बसिरहने पक्षमा नरहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =