एकताबद्ध भएर गएनौ भने ठूलो दुर्घटना हुनसक्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताएका छन् ।

शहीद प्रतिष्ठान नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरूलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिए । उनले समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध हुन पनि आह्वान गरे ।

उनले भने ‘अहिले त परिस्थिति के छ भने शहीद प्रतिष्ठान मात्रै होइन, पार्टीहरू एउटा मोर्चामा आउने परिस्थिति बन्दैछ । बाहिरका परिस्थितिले पनि हामीलाई समान विचार भएका, समाज इतिहास भएका, समान पीडा र भावनाबाट गुज्रिएकाहरू एकैठाउँमा आउनुपर्छ भनेर परिस्थितिले पनि दबाब दिएको छ । हामीले सचेत प्रयत्न पनि हामी समाजवादी मोर्चा हुँदै फेरि विचार मिल्नेहरू एउटै केन्द्रमा आबद्ध हुने पहल पनि हामीले बढाएका छौं । यहाँ भनियो नेतृत्व जन्माउन त जन्माउँछ इतिहासले । जनताले जन्माउने हो नेतृत्व भनेको । तर नेतृत्व जन्मिने भनेको फेरि रातारात जन्मिने चाहिँ होइन । जनताले पनि रातारात जन्माउन सक्दैन । इतिहासले पनि रातारात नाटकीय ढंगले जन्माउन सक्दैन । त्यसले पनि एउटा प्रक्रियाको सङ्घर्षको, बहसको, वैचारिक सङ्घर्षको र वर्ग सङ्घर्षको, वैज्ञानिक प्रयोगको एउटा प्रक्रियाबाट गुज्रिएपछि मात्रै नेतृत्व बन्ने हो । नेतृत्व पैदा हुने हो, जन्मने हो । त्यसकारण मलाई के लाग्छ भने यो कालखण्डमा जनयुद्धको तयारी, जनयुद्धको थालनी, शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता यो एउटा लामो वैचारिक र वर्ग सङ्घर्षबाट भयो । त्यो एउटा निश्चित विचार र नेतृत्व अन्तर्गत भयो । मलाइ के लाग्छ भने अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकी छ भन्ने मेरो ठहर छ । मैले अहिले रातारात अर्को नेता युवाहरू आइहाल्छन् । उनीहरुले सबैलाई लगी हाल्छन् भन्ने स्थिति अझै तयार भइहालेको छैन । हाम्रो काम हो–त्यस्तो वातावरण बनाइदिनु । हामीले एकताको प्रक्रियाद्वारा, एकताको तागतद्वारा नयाँ पुस्तालाई फेरि नेतृत्वको निम्ति तयार पार्ने वातावरण बनाइदिने जिम्मेवारी हाम्रो हो । हामी त्यो जिम्मेवारीप्रति अहिले गम्भीर छौं । म शहीद प्रतिसहित सबै क्रान्तिकारी पक्षलाई म अपिल गर्न चाहन्छु–अब समय आयो । अब एकताबद्ध भएर गएनौ भने ठूलो दुर्घटना पनि हुनसक्छ । तपाई मूल नेतृत्वप्रति र आफनो कर्तव्यप्रति उदासीन भएको म पाउँछु ।’

प्रधानमन्त्री दाहालले पार्टी नेतृत्वमाथि उदासीन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । कार्यक्रममा उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गराउन आफूहरूले बल गरिरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =