आर्थिक इन्डिकेटरहरु पोजिटिभ छन्, कुनै समस्या छैन : अर्थमन्त्री (भिडिओ)

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरू प्रकट भइरहेको दाबी गरेका छन् ।
शनिवारबाट काठमाडौंमा सुरु भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा बोल्दै उनले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरूले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको बताएका हुन् ।
उनले नेपालका अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक रहेकाले पनि नेपालमा लगानीको अभाव नहुने दोहोर्याए । अर्थमन्त्री महतले मुलुकका आर्थिक गतिविधि बिस्तारै अघि बढेको उल्लेख गर्दै यसलाई बढुवा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए ।
उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाख १६ र १७ गते हुने लगानी शिखर सम्मेलनमा लगानी भित्र्याउनका लागि उपयुक्त खालका परियोजनाहरू प्रस्तुत गर्ने तयारी भइरहेको पनि बताए ।
अर्थमन्त्री महतले भने ‘अहिले हाम्रा सबै आर्थिक इन्डिकेटरहरु पोजिटिभ छन् । त्यसमा कुनै समस्या छैन । इन्टरनल इण्डिकेटरहरु पनि पोजेटिभ भइराखेका छन् । ब्याजदर घटेको छ । शेयर मार्केट उकालो लागेको छ । र, आर्थिक गतिविधि पनि बिस्तारै बढिराखेको छ । अहिलेको आवश्यकता छ–पोजेटिभ न्यारेटिभ्स विकसित गर्न जरुरी छ । अहिलेसम्म हामी धेरै नेगेटिभ कुराहरू ग¥यौं । त्यसले गर्दा हाम्रो आत्मविश्वास कमजोर भयो । अहिले पोजेटिभ इन्डिकेटर आइरहेको अवस्थामा हाम्रो व्यापार, व्यवसायको कन्फिडेन्स बढ्छ । उपभोक्ताहरूको पनि कन्फिडेन्स बढ्छ । त्यसले लगानी बढाउँछ । नेपालमा लगानी गर्न सक्ने नेपालीहरू छन् । उनीहरुले नेपालमा गर्न नसक्ने भन्ने केही पनि छैन । त्यसकारण मलाई लाग्छ कि अब यो उपयुक्त समय हो कि पोजेटिभ न्यारेटिभ्सका साथ अगाडि बढौँ । र, आत्मविश्वास जगाऔँ । यो सँगसँगै धेरै कुरा पोजेटिभ भएर जान्छ भन्ने मलाई लागेको छ । अहिले हामीले यो वैशाखमा अप्रिल २८, २९ मा इन्भेस्टमेन्ट समिट नेपालमा हामी गर्दैछौं । बाहिरबाट पनि नेपालमा लगानी गर्नका लागि यथेष्ट इच्छाहरू प्रकट भएको छ । भारत, अमेरिका, चीनलगायतका देशहरू पनि नेपालमा लगानी गर्न धेरै इच्छुक छन् ।’
मन्त्री महतले नेपालको आर्थिक क्षेत्रको अवस्थामा सुधार ल्याउनका लागि आत्मविश्वास जगाउनुपर्ने आवश्यकता पनि औँल्याए ।








