राजनीतिमा योगराज उपाध्याय र नुतन थपलियाको योगदान महत्वपूर्ण छ : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले योगराज उपाध्याय र नुतन थपलियाले काँग्रेस र देश निर्माणमा दिएको योगदानबारे काँग्रेसले नेपालीहरुमा बुझाउन सक्नुपर्ने बताएका छन् ।
शुक्रवार पार्टी स्थापनाको ७८ औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले थपलिया र उपाध्यायले नेपालको राजनीतिमा ठूलो योगदान दिएका बताए । उनले द्वय नेताहरुले दिएका योगदानबारे सबै नेपालीहरुलाई बुझाउन जरुरी रहेको बताए ।
उनले भने, ‘योगराज उपाध्याय र नुतन थपलिया यी महान व्यक्तिहरु जो आज हामीले सम्मान गर्न पायौँ, उनीहरुले धेरै ठूलो योगदान गरेका छन्, नेपालका लागि । उनीहरुका बारेमा हामी किताबहरू निकालेर भएपनि, लेखेर भएपनि हामीले सबैलाई बाँड्नुपर्छ । उनीहरुले दिएको योगदानलाई सबै नेपालीहरुलाई यो कुरा बुझाउनुपर्छ । उनीहरुको योगदानको जतिसुकै प्रशंसा गरेपनि कम हुन्छ । उनीहरुलाई हामीले सधैँ सम्मान गर्नुपर्छ ।’
पार्टीको ७८ औँ स्थापना दिवसको अवसरमा काँग्रेसले उपाध्याय र थपलियालाई सम्मान गरेको हो । २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी भएका थिए ।
नेपाल विद्यार्थी संघ हुनुअघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्यायले अगुवाई गरेका थिए । बिपी कोईरालालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासन गएका थिए । थपलिया भने नागरिक स्वतन्त्रताका लागि २००३ सालदेखि सक्रिय भएर लागेका थिए । शहीद शुक्रराज शास्त्रीसँग शिक्षा लिएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता समेत थिए ।








