रविको लामो स्टाटस

रविले सार्वजनिक गरे ‘रकम बुझिलिएँ’ भनेर गरिएको कागज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘रकम बुझिलिएँ’ भनेर कागज गरेको उल्लेख गरेका छन् । ग्यालेक्सी फोरके टेलिभिजनमा रहँदा सहकारीको रकम ठगी गरेको आरोप लागेपछि सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका उनले राति सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ‘रकम बुझिलिएँ’ भनेर कागज गरेको बताएका हुन् ।

स्टाटसमा लेखिए १ करोड ८० लाख रकम नलिएको भए पनि रकम बुझिलिएँ भनेर गरेको कागज भने गरिएको हो । तर त्यो केवल कानुनी प्रक्रिया पूरा गर्नाका लागि मात्र बनाइएको कागज भएको उनको जिकिर छ । ‘अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला’, उनले भनेका छन्, ‘जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दै छु । कृपया पूरै पढेर मात्र विचार बनाउनु होला ।’

पत्रकार सम्मेलनमा उनले सहकारीबाट निकालिएको १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको प्रमाण भन्दै ग्लोबल आईएमई बैंकको पत्र देखाएका थिए ।

  • पूरा पढ्नुस् रविको भनाई :-

आज (सोमबार) को प्रेस मिटमा मैले सबै कुरा स्पष्ट राखेँ भन्ने लागेको छ। पत्रिकामा लेखिने ठूला हेडलाइन र केही डकुमेन्टका आधारमा वास्तविकता पुरै नबुझी विचार बनाउने हाम्रो प्रवृत्तिबारे म जानकार छु। तर तथ्यमा पनि विचार गरिदिन अनुरोध छ।

डिपोजिट स्लिपकै आधारमा मेरो खातामा रकम जम्मा भयो भनेर ठोकुवा गरियो, जबकि बैँकले नै खातामा रकम जम्मा भएको छैन भनिसक्यो। बैँकमा भएका हरेक कारोबार नियामक निकायको नियमनमा हुन्छ। यो क्षेत्रमा पारदर्शीता हुन्छ। कसैले लुकाएर वा लुकाउन चाहेर लुक्ने, छिप्‍ने कुरै होइन यो।

अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला। जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दैछु। कृपया पूरै पढेर मात्र विचार बनाउनु होला।

मैले सुरुदेखि नै स्वीकार गर्दै आएको छु, ग्यालेक्सी टिभी सञ्चालन गर्ने कम्पनी गोर्खा मिडियामा म संलग्न हुन जानुअघि त्यसका प्रमोटर र म बीच कम्पनीको १५ प्रतिशत सेयर मेरो नाममा गुडविल बापत् अर्थात् बिना लगानी कायम गर्ने सहमति भएको थियो। यसलाई पसिनाको कमाई वा स्वेट सेयर पनि भन्ने गरिन्छ बोलीचालीको भाषामा।

यो शेयरलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर लगत कायम गर्न आवश्यक कानुनी प्रबन्ध र कागजपत्र कम्पनी स्वयंले मिलाउने भन्ने सहमति पनि थियो। यो किन भएको थियो भने यी कानुनी मामिलामा संलग्न हुन मसँग समय थिएन। टेलिभिजन सञ्चालनको लागि कार्यक्रम,समाचार, कर्मचारी,प्रविधि लगायतको आन्तरिक व्यवस्थापन गर्ने मेरो मुल जिम्मेवारी थियो। मेरो नाममा शेयर लगत कायम गर्न आवश्यक काम गोर्खा मिडियाले नै गर्‍यो, त्यति बेला मैले सोधखोज पनि गरिनँ। बरु सार्वजनिक रुपमा कार्यक्रमको पहिलो एपिसोडमा खुलस्त पारिदिए। बाँकी प्रक्रियागत कुरा मिलाउन के के गरिन्छ भन्ने कुरा जगजाहेर कुरा हो। हिम्मत जुटाएर खोजौं र सबले मम भनौं। तर मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी पटक्कै होइन।

जब मैले ग्यालेक्सी टिभी छोड्ने निर्णय गरेँ, त्यतिबेला कम्पनीले मेरो गुडविल उपयोग गर्न नसक्ने भयो। त्यसकारण मैले इमान्दारीपूर्वक बिना लगानी लिएको उक्त शेयर बिना रकम नै फिर्ता गर्न सहमति जनाएँ।

तर, यहाँ पनि अर्को कानुनी समस्या देखिएछ। मेरो नामको शेयर जसको नाममा नामसारी भई कम्पनी रजिष्ट्रारको कार्यालयमा लगत कायम हुनुपर्ने हो, उसले मेरो शेयर किनेको देखिनुपर्ने भएछ। मैले शेयर कसको नाममा नामसारी गरिदिनुपर्ने पनि सोधेको होइन। गोर्खा मिडियाका अध्यक्ष जीबी राईकै नाममा लगत कायम गर्ने निर्णय भयो, मैले प्रक्रिया पूरा गरीदिए। कम्पनी शेयर किनबेचमा यो अति सामन्य अभ्यास हो र फेरीपनि मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी होइन। यो पनि टिभी छोड्दा सारा दर्शक सामु स्पष्ट पारिदिएको छु र भनेको छु कि मैले आफ्नो भागको शेयर एक पैसा नलिइ फिर्ता गरेको छु, जसमा मेरो एक पैसापनि परेको थिएन।

कम्पनी रजिस्ट्रारको कार्यालयमा शेयर बिक्री भए वापत रकम कारोबार भएको प्रमाण आवश्यक त पर्छ नै। अर्थात् मेरो १५ प्रतिशत शेयर जसलाई बिक्री गरेको हो उसले मलाई रकम दिएको देखिनु पर्ने थियो। त्यही प्रक्रिया कै लागि मैले शेयर छाडेको कागज गरेँ, जुन कागज तल पोस्ट गरिदिएको छु। मेरो शेयर खरिद गरेबापतको रकम जीबी राईले मेरो खातामा जम्मा गरेको भौचर देखिए पनि रकम खातामा आएन। सायद त्यो आवश्यक प्रक्रिया मात्रै थियोे जुन यस्तै ढंगले पूरा गरिने आम अभ्यास छ । त्यसैका आधारमा शायद भौचर मात्र राखी कम्पनी रजिष्ट्रारको कार्यालयमा जीबी राईको नाममा शेयर नामसारी भई दाखिला पनि भएको हुनु पर्छ।

यहाँनिर सबैले बुझ्नु पर्ने कुरा के छ भने, मेरो खातामा रकम जम्मा भएको थिएन। अर्थात् चेक क्लियर भएन किनभने जीबी राईको खातामा जति रकमको चेक काटियो, त्यति पुग्ने पैसा नै रहेनछ।

यसो हुँदा कागजमा मेरो खातामा चेक जम्मा भएको देखियो, डिपोजिट भौचर प्राप्त भयो र शेयरको कारोबार सम्पन्न भयो। तर पैसाको लेनदेन भएन र यो सबै एकै दिनमा भएको छ। यदि मैले पैसा लिन चाहेको थिएँ भने उक्त चेक क्लियर नभएको विरुद्ध म चेक बाउन्स मुद्दामा जान सक्थें। तर, मलाई त्यो गर्नु आवश्यक थिएन। किनकि मैले स्वेच्छाले त्यो शेयर छाडेको थिएँ र मलाई यो सारा कारोबारबारे थाहा हुनु आवश्यक पनि थिएन। किनकि मैले त शेयर फिर्ता गर्नुपर्ने दायित्व थियो, गरेँ।

कुरा यत्ति हो र यसमा मेरो दोष कति भयो कति भएन आफै मूल्याकंन गर्नु होला। तिर्नु, बुझाउनु,सहनु पर्ने कुरामा म सधै राजी नै छु। इमानदारी पुर्वक आफ्नो पोजिसन क्लियर गर्दै म पटक पटक प्रेसलाई जवाफ दिन उभिएको छु, आम जनतालाई जवाफ दिन उभिएको छु, सार्वजनिक सुनुवाइमा उभिएको छु। यसरी आफू माथि प्रश्न उठ्दा कति नेता यसरी प्रेस र जनताको सामु उभिएका छन् होलारु
राज्यको निकायलाई झुक्याएको, कीर्ते गरेको जस्ता आरोप पनि आउलान्। तर प्रक्रिया नै यस्तै छ, गर्ने केरु मकम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर कम्पनी चलाउने सबैलाई यो कुरा बुझ्न समय पक्कै लागेन होला। हामीले कानुनी संरचना नै यस्तै बनाएका रहेछौँ। नेपालमा ‘गुडविल शेयर’ भनेर रकम जम्मा नगरी शेयर कायम हुने कानुनी प्रबन्ध नै छैन। र, फिर्ता गरेको शेयर पनि किनबेच भएको देखिनुपर्ने हुन आउछ। विदेशमा यो सामान्य नै हुन्छ।

यो मामिलामा गुडविल शेयर लिने र फिर्ता गर्ने प्रक्रिया मिलाउन जे जति भए त्यो म कसैलाई दोष दिन्न। तर म सुरुदेखि नै आफ्नो कुरामा प्रष्ट छु, न गुडविल सेयर लिनका लागि मैले रकम हालेको थिएँ, न त्यो फिर्ता गर्दा नै कुनै रकम लिएको छु।

गोर्खा मिडियामा सेयर लगत कायम गर्न मेरो खाताबाट गएको ७५ लाख उनैबाट प्राप्त हो, मिडिया छाड्दा सेयर लगत हटाउन ‘पाएँ’ भनेर ल्याप्चे लगाएको १।८० करोड उनैलाई छोडेर गएको हो, मैले लगेको छैन। प्रमाणले पनि त्यही देखाउँछ।

भएको कुरा यत्ति हो। म मिडियामा हुँदा र मैले मिडिया छाड्दाको सेयर लगतको कुराले यो देशका हजारौँ सहकारी पीडितको मूल मुद्दा कतै नअलमलियोस् भन्नेमा सबैले ध्यान दिउँ। यो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी संवेदनशील र प्रतिवद्ध छ।

आजको पत्रकार सम्मेलनले जति प्रश्नको जवाफ दियो त्यति नै धेरै प्रश्नपनि जन्माएको छ, जसलाई हामीले हल गर्नै पर्छ। छ्लेर,भागेर,तोडेर मोडेर भन्दा यथार्थ कुरा भनेर समस्याको समाधान खोज्नु उपयुक्त लागेर यति लेखेको छु। एक सामान्य जीवन बाट आएको मान्छे कमजोरी अनेकौं छन् तर गल्ती नगर्ने प्रयास जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =