एमाले उपाध्यक्ष पौडेलको आरोप–सरकारले एनआरएनएसंग चलखेल गरिरहेको छ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपाल संघ (एनआरएनए) माथि सरकार आफैँले चलखेल गरिरहेको आरोप लगाएका छन् ।

एनआरएनएभित्र झगडा निम्त्याएर वर्तमान सरकार र सत्तारुढ दलहरूले तमासा देखाइरहेको उल्लेख गर्दै उनले त्यस्तो कार्य तत्काल बन्द हुनुपर्ने पनि बताएका हुन् ।

एनआरएनएको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्य समितिमाथि अविश्वास खडा गरेर सरकारले नै उनीहरूलाई कुनै राजनीतिक दलको भ्रातृ संगठनको जस्तो व्यवहार गरेको जिकिर गर्दै उपाध्यक्ष पौडेलले त्यस्तो काम सरकार र राजनीतिक दलहरूले कुनैपनि बहानामा नहुने बताए ।

एनआरएनएले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एनआरएनए कोष परिचालनमा कन्जुस्याइँ नगर्न पनि सरकारलाई दबाब दिए ।

सरकारले सो कोषको परिचालनमा कन्जुस्याइँ गरेका कारण गैर आवासीय नेपालीहरूले ठूलो परियोजनामा लगानी गर्ने अवस्था नरहेको उपाध्यक्ष पौडेलको दाबी थियो । उनले गैर आवासीय नेपालीहरूले नागरिकता पाउने र त्यसको पूर्ण रुपमा उपयोग गर्ने कुरामा आफ्नो पार्टी प्रतिबद्ध रहेको समेत बताए ।

उपाध्यक्ष पौडेलले भने ‘चुनाव लड्नुप¥यो भने प्रवासी नेपाली संघ खोज्नुपर्छ हामीले ? त्यहाँ भित्र झगडा मच्चाउनु पर्छ ? २०७९ मा चुनाव लड्यौँ । अव २०८४ मा लडे भईगयो नि । जे जे प्रतिस्पर्धा गर्ने, त्यही गरेँ भई गयो नि । गैर आवासीय नेपालीहरू भित्र खेलेर त्यत्रो एउटा साझा संगठन कुनै दल विशेषको जनसंगठन वा भ्रातृ संगठन होइन गैर आवासीय नेपाली संघ भन्ने कुरा सबैले मानेको छ । फेरि पनि त्यसलाई भ्रातृ संगठन जस्तो गरेर ह्वीप जारी गरेर, उम्मेदवार उठाएर, निर्वाचन मान्दिन भन्न लगाएर यो तमासा कुनैपनि राजनीतिक दलहरूले गर्नुहुँदैन । सरकारमा रहेका दलहरूले त गर्नु हुँदैहुँदैन । सरकारले त झन गर्नै हुँदैन । त्यसकारण यो स्थितिको शिघ्रातिशिघ्र अन्त्य होस भनेर अपेक्षा गर्न चाहन्छु । म एक हदसम्म के कुरामा सन्तुष्ट छु भने त्यतिबेला यहाँहरूले जुन प्रकारको अपेक्षा गर्नुभएको थियो । तदनुकुलका स्टेपहरु चालिएका थिए । र त्यो कोष स्थापनाका निमित्त नेपाल सरकार स्वयं पनि एउटा स्केट होल्डर भएर त्यसको एउटा पार्टनर भएर यो कोष स्थापनाका निम्ति पहल गरिएको थियो । त्यसले एउटा उचाइ प्राप्त गरेको थियो । तर आज यो कोष घरी अर्थ मन्त्रालयले यो समस्या सृजना गरेको छ । घरी अरुले गरेको छ । यसमा अरु प्रकारका समस्याहरू पनि छन । ती समस्याहरूको जन्जालमा अल्झिएको पाउँछु । मैले बुझ्दा चाहिँ के बुझिरहेको थिए भने यो एनआरएनए कोष स्थापना गरेर संसारभरि छरिएर रहेका गैरआवासीय नेपालीहरूले त्यो कोषमार्फत एउटा भिजिबल इन्भेस्टमेन्ट नेपालमा गर्ने र नेपालको आर्थिक उन्नतिमा एउटा निर्णायक योगदान दिने जुन तपाईँहरूको संकल्प हो । त्यो संकल्प सराहनीय छ । त्यो सङ्कल्पका निम्ति अहिले जे, जस्तो कन्जुस्याईहरु गरिएका छन । त्यसबाट सरकार बाहिर आउनुपर्छ । जोसुकैको कुरा भएपनि त्यो चीजबाट बाहिर आउनुपर्छ । र, यो कोषलाई प्रभावकारी बनाउन सरकारले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । अहिले जसरी जहाँ पुग्नु पर्दथ्यो, यो कोषमा संसारभरका प्रवासी नेपालीहरूले यसमार्फत लगानी गरेर केही महत्वपूर्ण आयोजनाहरू निर्माणका काम भइसक्थ्यो । त्यो चिज हुुन सकेको छैन । त्यसका निम्ति यहाँहरूको प्रयास जारी रहोस् । आफ्नो पोजिसनअनुसार हामीले भुमिका खेल्छौँ ।’

कार्यक्रममा बोल्दै सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अब्बल भएर काम गर्न एनआरएनएका नेतृत्वलाई आग्रह गरे । सङ्गठनमा आबद्ध सबैलाई एकताबद्ध भएर अघि बढे मात्रै संगठन र राष्ट्रको प्रतिष्ठा बढ्ने भएकाले सबैलाई समेटेर एनआरएनए अघि बढ्नुपर्ने उनको भनाई थियो ।

सांसद सापकोटाले भने ‘अब एनआरएनएले अब्बलताका साथ काम गर्ने इच्छाशक्तिका साथ अघि बढ्नुपर्छ । यसमा देखिएका समस्या समाधान गर्न पनि काममा अब्बलता देखाउनुपर्ने हुन्छ । अव पराजित भएका साथीहरूलाई धेरै गाली नगर्नुस् । सबैलाई विश्वासमा लिएर तपाईँहरू अघि बढ्नुपर्ने हुन्छ ।’

सत्तारुढ नेपाली काँग्रेसका नेता शङ्कर भण्डारीले नेपालमा राजनीतिक स्थायित्व नभएका कारण देशलाई अघि बढाउन सक्ने अवस्था नभएको बताए । उनले राजनीतिक दलहरू आफैँ भित्र समस्या भएकाले उनीहरुले देशको पक्षमा काम गर्नसक्ने अवस्था नभएको बताए ।

नेता भण्डारीले भने ‘नेपालमा मूल रुपमा पोलिटिकल स्टाविलीटी नै भएन । अब त यतिसम्म समस्या आयो कि हरेक राजनीतिक पार्टीमा समस्या छ । एमाले भित्र ओलीको हाईकमाण्ड छ । तर भित्रभित्र त्यहाँ भित्र समस्याहरू छन् । हाम्रो त खुला पार्टी केन्द्रीय समितिमा नबोले पनि हुन्छ । बाहिर जति बोले पनि हुन्छ । रास्वपा भर्खर आएको छ । शुभकामना छ राम्रो होस् । जबसम्म पदीय मर्यादाभन्दा माथि उठेर अघि बढ्दैनौँ, त्यससम्म देशलाई अघि बढाउन सक्दैनौँ ।’

काँग्रेस नेता भण्डारीले संविधानलाई माध्यम बनाएर नेताहरूले आफ्नो स्वार्थपूर्ति गरिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =