जनसंख्याको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले काम गरेन : बद्रीप्रसाद पाण्डे

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनसंख्याको क्षेत्रमा काम गर्न नसकेको बताएका छन् ।
सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जनसंख्याको क्षेत्रमा काम गर्नका लागि छुट्टै विभाग आवश्यक भएको हो ? भन्दै प्रश्न गरे । उनले सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसंख्या सम्पूर्ण हिसाबले छुटेको बताए ।
जनसंख्या छुट्ने कुरा गम्भीर रहेको र जनसंख्यासम्बन्धीका केही तथ्याङ्कहरू डरलाग्दो रहेको बताए । उनले १५ प्रतिशत भन्दा बढी भूगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसंख्या हुनु र २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी हुनुले असन्तुलन बिग्रिन सक्ने बताए ।
उनले भने ‘जनसंख्या महाशाखाले काम गरिरहेको जस्तो लागेको छैन । छुट्टै विभाग चाहिने पो हो की ? अथवा तथ्यांक तथा जनसंख्या विभाग चाहिने हो की । जनसंख्याको काम स्वास्थ्यमा भएकै छैन । सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसंख्या सम्पूर्ण हिसाबले छुटेको छ । जनसंख्या छुट्ने कुरा गम्भीर हो । केही तथ्यांक डरलाग्दा छन् । १५ प्रतिशत भन्दा बढी भूगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसंख्या छ । २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी छ । त्यो असन्तुलन छ । जनसाङ्ख्यिक लाभांश लिने कुरालाई राज्यले कुन रणनीतिका साथ उपयोग गर्छ यसमा गम्भीरताका साथ लिनुपर्छ ।’
सांसद पाण्डेले जनसाङ्ख्यिक लाभांश लिने कुरालाई राज्यले गम्भीरताका साथ लिनुपर्ने बताए ।








