कक्षा ९ मा अध्ययनरत थापा र विकले बनाए खाद्यान्नबाट नेपालको नक्सा

गुल्मी । गुल्मीका विद्यार्थीले स्थानीय स्तरमा पाइने दलहन र खाद्यान्न बालीको दाना प्रयोग गरी आकर्षक नेपालको नक्सा बनाएका छन् । जिल्लामा पाइने रैथाने बाली अन्तर्गत धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगोको दाना प्रयोग गरी नक्सा तयार पारेका हुन् ।

जिल्लाको मालिका गाउँपालिका–३, ह्वाङ्दी मेहाले माध्यमिक विद्यालयका दुई विद्यार्थीले तयार पारेको नक्सा अहिले सामाजिक सञ्जालमा शेयर बढिरहेको छ । विशेषतः पहाडी जिल्ला गुल्मीमा धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगो उत्पादन हुने गर्दछ । यसैलाई प्रयोग गरी कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्वय सुशील थापा र मीनबहादुर विकले नक्सा बनाए ।

नेपाल कृषि प्रधान देश हो । नेपालको बाहुल्य जनसङ्ख्या कृषिमा आश्रित रहेको छ । सोही विषयलाई विद्यार्थीद्वयले निर्माण गरेको आकर्षक नेपालको नक्सामा प्रतिबिम्बित गरेको बताएका छन् । देशको शासकीय प्रणाली एकात्मक राज्य व्यवस्थाबाट सङ्घात्मक प्रणालीमा गएसँगै हाल नेपालमा सातवटा प्रदेशहरू छन् ।

विद्यार्थीले प्रत्येक प्रदेशको छुट्टाछुट्टै दलहन तथा खाद्यान्न बालीको प्रयोग गरी नक्सा तयार पारेपछि चौतर्फी प्रशंसा भएको बताए । नक्सालाई आकर्षक बनाउन विद्यार्थीले आफ्नै तरिकाले दलहन तथा खाद्यान्न बालीका दाना प्रयोग गरी नक्सा तयार पारेको विद्यालयका सामाजिक विषय शिक्षक टोपलाल पौड्यालले बताए ।

विद्यार्थीद्वय थापा र विकले दुई दिन लगाएर न्यून खर्चमा नक्सा तयार पारेको उहाँको भनाइ छ । विद्यालयले उपलब्ध गराएको प्लाई बोर्डमा गमको सहायताले दलहन तथा खाद्यान्न बालीका दानाहरू टाँसेर नेपालको नक्सा बनाएका हुन् । नक्सामा कोशी प्रदेशलाई धान, मधेश प्रदेशलाई मसुरोको दाल, बागमती प्रदेशलाई कालो सिमी, गण्डकी प्रदेशलाई मकै, लुम्बिनी प्रदेशलाई भाँगोको दाना, कर्णाली प्रदेशलाई चामल र सुदूरपश्चिम प्रदेशलाई कोदोको दानाले सङ्केत गरेका छन् ।

सामाजिक विषय अध्ययनका क्रममा नक्सा कार्य शीर्षकको पाठमा विद्यार्थीलाई रचनात्मक बनाइ अभ्यास गराउने क्रममा नेपालको नक्सा तयार पार्न सिकाएको शिक्षक पौड्यालले बताए । यसरी विद्यार्थीहरूद्वारा तयार पारिएको नेपालको नक्सालाई मालिका गाउँपालिकाको आयोजनामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक प्रदर्शनी प्रतियोगितामा राखिएको थियो । –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *