धन कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए

काठमाडौं । दुई वर्षअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका मोरङ केराबारी गाउँपालिका–७ निवासी ३५ वर्षीय पदमबहादुर लिम्बु गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईको सहयोगमा नेपाल फर्किएका छन् ।

यूएईमा दुई वर्षदेखि काम गर्दै आएका ३५ वर्षीय लिम्बु दुई महिनाअघि शौचालयमा चिप्लिएर लड्दा उनको दाहिने खुट्टाको हड्डी भाँच्चिएको थियो । आर्थिक अभावकै कारण उनको उपचारमा समस्या भएको थियो । साथीभाइको सरसहयोगबाट उपचार गराएका उनलाई अस्पतालबाट डिस्चार्ज भएपछि स्वदेश फर्काउन समेत आर्थिक समस्या भएको थियो । एनआरएनए यूएईका प्रवक्ता रुद्र थापाले आर्थिक संकलन गरी उनलाई नेपाल पठाइएको बताए ।

एनआरएनए उपाध्यक्ष तथा राहत उद्धार समितिका संयोजक भीम मल्ल ठकुरीका अनुसार आर्थिक अवस्था निकै नाजुक रहेको र हालसम्म काम गरी कमाएको रकम पनि उपचारमै खर्च भएकाले उनले हवाई टिकट काटी नेपाल जानका लागि सहयोग गरिदिन एनआरएनमा निवेदन दिएका थिए । निवेदन आएपछि एनआरएनए यूएईका अध्यक्ष विकास शाही, उपाध्यक्ष तथा राहत उद्धार संयोजक ठकुरीले वास्तविक पीडित ठहर गरेर नेपालसम्म जानका लागि हवाई टिकट उपलब्ध गराएको प्रवक्ता थापाले बताए ।

पछिल्लो समय एनआरएनए यूएईको निर्वाचनबाट नयाँ टिम निर्वाचित भएसँगै राहत तथा उद्धार समितिले आपतमा परेका नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने कार्यलाई तीव्रता दिएको छ । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *