पनौतिलाई विश्व सम्पदा सूचिमा राखिँदै(भिडिओ)

काठमाडौं । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ ।

२०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने पहल भएपनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन ।

तर पछिल्लो समय स्थानीय सरकारको पहलमा पनौतिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन तिब्र तयारी गरिएको हो ।

पनौति नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौति क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल भएपनि अहिलेसम्म सफल नभएको बताए ।

उनले नगरपालिकाले अहिले पनौतिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन अन्तिम तयारीमा लागेको बताए । उनले युनेस्कोले दिएको मापदण्ड अधिकांश पूरा भइसकेकाले अब केही मापदण्ड पूरा गरेर पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको बताए ।

उनले नगरपालिकाले अहिले संरक्षणका लागि व्यवस्थापकीय योजना निर्माण गरिरहेको बताए । उनले व्यवस्थापन योजना बनाइसकेपछि पुरातत्व विभाग हुँदै युनेस्कोमा तयारी रहेको बताए ।

उनले अबको दुई महिनाभित्रमा व्यवस्थापकीय योजना बनिसक्ने बताए । व्यवस्थापकीय योजना बनाइसकेपछि युनेस्कोमा पहल गर्ने उनको भनाइ छ । कानूनहरु नबन्दा पनि कतिपय स्थानमा समस्या उत्पन्न भइरहेको उनको भनाइ छ ।

उनले भने– ‘यो २०५८ सालमा स्मारक क्षेत्र घोषणा भयो । त्यो भन्दाअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएको थियो । त्यसबेला सरकारले नचिनेको जस्तो लाग्यो । त्या बेलाबाट २०५८ सालमा संरक्षित स्मारक क्षेत्र भनेर घोषणा भयो, त्यसमा सिंगो पनौति नै रह्यो । यसमा धेरै सांस्कृतिक सम्पदा छन् । गौतम ऋषि र अहिल्या, इन्द्रले तपस्या गरेर मुक्ति पाएको ठाउँ हो । विश्व सम्पदा सूचिमा सूचिकरण गर्ने प्रक्रियामा अघिल्लो कार्यकालमा फिजिकल डकुमेण्ट बनाएका थिए । अहिले त्यसलाई संरक्षण गर्ने व्यवस्थापकीय योजना चाहियो । अहिले त्यो निर्माणको चरणमा छ । समुदायले संरक्षण गर्न आत्मसात गर्छ की गर्दैन भनेर त्यो विश्वस दिलाउनु छ । हामीले युनेस्कोले तोकेका धेरै मापदण्ड पूरा गरिसकेका छौँ । अब एउटा व्यवस्थापन योजना बनाइसकेपछि अब हामी पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाउने छौँ । कानूनहरु नहुँदा प्रदेशबाट की संघ मातहत जाने भन्नेकुरामा दोधार छ । पुरातत्वविभागसँग छलफल गरेर अघि बढाइरहेका छौँ ।’

प्रमुख भण्डारीले सांस्कृतिक सम्पदाहरु सबैका साझा र देशको सम्पती हो भन्ने सोचेर काम अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले जनप्रतिनिधिहरुले पनि जागरुकताका साथ कामलाई हेर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले कर्मचारीतन्त्रमा काम ढिलो गरिदिने समस्याले पहल गर्न ढिलो भइरहेको बताए ।

उनले भने–‘अहिलेको परिस्थितिमा जसले जुन निकायले त्यो फाइल अध्ययन गर्छ उनीहरुले बुझिदिनुपर्छ की यो देशकै सम्पती हो । हाम्रो हो भन्ने भावना बुझ्नुपर्छ । हेर्न र अध्ययन गर्न वर्षौं लगाएपछि उपाय हुँदैन । पदाधिकारीले पनि जागरुकताकसाथ हेर्नुपर्छ । कर्मचारीतन्त्रमा ढिलासुस्तीले गर्दा ढिलो भएको छ । अब ढिलो हुँदैन । आफ्नो कार्यकालमा पूरा गरेर नै छोड्छु ।’

यता, पनौति पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौति ऐतिहासिक पुरातात्विक महत्व बोकेको सम्पदाको शहर भएको बताए ।

उनले पनौतिमा एक किलोमिटर क्षेत्रमा ४२ वटा मूर्त सम्पदा रहेको बताउनु भयो । मूर्त र अमूर्त गरी पनौतिमा मात्रै ७० बढी सम्पदाहरु रहेकाले यो शहर एउटा खुला संग्रहालय रहेको बताए ।

उनले स्वर्गलोकको राजा इन्द्र श्राप मुक्तका लागि आएर तपस्या गरी मुक्त भएको र मकर मेला लागेको लगायतका सांस्कृतिक जात्राहरुले भरिपूर्ण रहेको बताए ।

उनले भने– ‘यो ऐतिहासिक पुरातात्विक महत्वको सम्पदाको शहर हो । एक किलोमिटर क्षेत्रमा ४२ वटा सम्पदा छन् । नगरपालिकाकै कुरा गर्ने हो भने २ सय भन्दा बढी सम्पदा छन् । पनौतिमा मात्रै मूर्त रुपमा ४२ र अमूर्त रुपमा ७० वटा छन् । सबै जातजाति भाषीहरु मिलेर पनौति सजिएको छ । यस विषयमा कुरा गर्दा स्वर्गलोकको राजा इन्द्र श्राप मुक्तका लागि यही ठाउँमा आएर तपस्या गरेपछि निको भएर जानुभएको थियो । यो यति ऐतिहासिक छ । यो १२ औं शताब्दीको कुरा हो । यो एउटै चट्टानमा छ । भूकम्पले पनि त्यति धेरै क्षति गरेन । १२ वर्षमा मकर मेला, जेठ पूर्णिमा जस्ता मेला लाग्दछन् । १ किलोमिटरको दूरीमा ४० वटा सम्पदा भनेको यो खुला संग्रहालय हो ।’

त्यस्तै पनौतिस्थित इन्द्रेश्वर महादेवका पुजारी रमेशप्रसाद जंगमले पनौति शहर धेरै पुरानो शहर भएकाले विश्व सम्पदा सूचिमा सूचिकृत हुनुपर्नेमा जोड दिए ।

उनले शहरमा रहेका आधुनिक ८० भन्दा बढी सम्पदाहरुलाई पुरानै शैलीमा निर्माण गरेर विश्व सम्पदा सूचिमा सूचिकृतका लागि पहल गर्नुपर्ने बताए ।

उनले यसबारेमा स्थानीयलाई जनचेता दिन र जागरुक बनउन जरुरी रहेको बताए । उनले पनौतिमा घुम्न जाने ९० प्रतिशत पर्यटक फ्रान्सका हुने गरेको बताए ।

उनले भने–‘विश्व सम्पदा सूचिमा राख्ने प्रयास २०५२ सालदेखिको हो । पनौतिमा फ्रान्स सरकारले एउटा प्रोजेक्ट लागू गरेको थियो । फ्रान्समा पनि यस्तै कलाकृतिले भरिपूर्ण खैजीलेमु भन्ने शहर छ । त्यो यो र हेरेर प्रोजेक्ट गरेका थिए । यो धेरै पुरानो शहर भएकाले विश्व सम्पदा सूचिमा राख्नुपर्ने उहाँहरुको आह्वान थियो । यहाँ आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक फ्रान्सका छन् । हामीले बुझाउन नसक्दा अहिले आधुनिक घरहरु निर्माण भए । अहिले उनीहरुले ८० वटा जति घरहरु पुरानै शैलीमा बनाए राख्ने कुरा भनेका छन् ।’

पनौतिलाई सरकारले प्राचिन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ ।

युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतिलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचिकृत गर्न प्रश्ताव गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =