राष्ट्रिय गौरवका आयोजनाको छनौटमा मापदण्ड बनाउनुपर्छ : शक्तिबहादुर बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरूको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाहरू अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरूको छनौट गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।

शुक्रवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरूको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताए ।

मन्त्री बस्नेतले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरूलाई सरुवा गर्ने कुनै मनसाय नरहेको बताए । विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरव आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको स्पिरिट नभएको मन्त्री बस्नेतको स्पष्टीकरण थियो ।

उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरूले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताए ।

मन्त्री बस्नेतले भने ‘अब राष्ट्रिय गौरवको आयोजनाहरू भनी सकेपछि त्यसको निम्ति त्यसको व्यवस्थापनको कानुनी व्यवस्था अलि विशिष्ट रुपमा हुनुपर्ने हो कि भन्ने कुरा ठिकै कुरा हो । तर त्यसो गर्नका लागि राष्ट्रिय गौरवको आयोजनाहरूको छनौट, पहिचान गर्ने कुरामा एउटा निश्चित मापदण्डसहित यो प्रसङ्गमा फेरि होलिष्टिक एप्रोचमा नै छलफल गरिदिँदा उपयुक्त नै हुन्छ जस्तो लाग्छ । यसलाई समग्रमा नै फेरि एकपटक रिभ्यु गर्ने, छलफल गर्ने समय पनि आएको जस्तो लाग्छ । र त्यो ढंगले छलफल हुनु सान्दर्भिक नै हुन्छ भन्ने मलाई लाग्दछ । जे इन्फरमेसन आइराखेको छ, त्यो कुरा सही होइन । अझ हामी त साथीहरूलाई ६ महिना त्यही बसेर काम गरिदिनुस् भनेर अनुरोध गरी राखेका छौं । दुई वर्ष पुगेका वा नपुगेर पनि हामी कहाँ सरुवा माग्न आइरहेका साथीहरूलाई पनि अरु ६ महिना बसेर काम गरिदिनुस् हो भनेर हामीले अनुरोध नै गरिरहेका छौं । त्यसकारण अहिले हाम्रो स्प्रिरिट कम्तीमा २ वर्ष भन्दा अगाडि कोही पनि राष्ट्रिय गौरवको आयोजना प्रमुखहरूलाई चेन्ज गर्ने मन्त्रालयको, विभागको त्यो स्पिरिट हुँदैन । र, विशेष परिस्थिति नभईकन हामीले परिवर्तन गर्ने कुरा आउँदैन ।’

बैठकमा बोल्दै समितिका सदस्यहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई महत्त्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद इन्दु कडरीयाले राष्ट्रिय गौरवको भनेर घोषणा गरिएका आयोजनाहरूको काम अलपत्र पार्ने काम नगर्न सरकारलाई सचेत गराए ।

उनले भने ‘राष्ट्रिय गौरवको आयोजना भनिएको छ । वर्षौँसम्म अलपत्र पारिएको छ । वर्र्षौसम्म राष्ट्रिय गौरवको आयोजना बन्दैन । यसलाई बढी महत्त्व दिएर समयमै सक्ने काम होस् भन्न मैले चाहेँ । अर्को राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरिएको छ । अनि सुरु नै हुँदैन । जस्तो राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरिएको पश्चिम सेती जलविद्युत आयोजना ३० वर्षदेखि सुरु भएको छैन । राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गर्ने अनि सुरु नै नगर्ने । यो अवस्था नआओस् ।’

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवको आयोजनाहरूलाई समयमै सम्पन्न हुने गरी स्रोत, साधन र जनशक्ति परिचालनमा ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले देशलाई समृद्धि बनाउने भन्दा पनि कमजोर पार्ने गरी राष्ट्रिय गौरवको आयोजनाहरू अघि बढाइएको जिकिर गर्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे ।

सांसद आछामीले भने ‘देशको समृद्धिसँग अन्तरबिरोधीजस्तो महसुस हुन्छ । लागत बढिराखेको छ । खेती गर्ने युवा विदेश पलायन भइराखेका छन । जमिन टुक्रिराखेको छ । यता, राष्ट्रिय गौरवको आयोजनाहरूको अवधि लम्बिइराखेको छ भनेपछि यसले विकास गति लिन्छ कि लिन्न ? भन्दाखेरि यो जे हामीले दिगो विकास लक्ष्य हासिल गर्ने भनेका छौं । राष्ट्रलाई समृद्ध बनाउने भनिराखेका छौं । यो चाहिँ चुनौतीपूर्ण छ जस्तो लाग्छ मलाई । अब यी आयोजनाहरू चाँडै सम्पन्न गर्नका लागि स्रोत, साधनको परिचालनमा ध्यान दिनुपर्छ । जनशक्ति पनि त्यही केन्द्रित हुनुपर्यो नि । राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट केन्द्रित गर्ने र त्यसलाई अघि बढाउने कुरामा सरकार गम्भीर हुनुपर्छ । र भइरहेको जस्तो पनि लागेको छ ।’

सांसद आछामीले राष्ट्रिय गौरवको आयोजनाहरूमा बजेटको अभाव हुन नदिन पनि सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =