निजामती सेवामा आदिवासी जनजातिको संख्या बढ्दै

काठमाडौँ । नेपालको निजामती सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५.५ प्रतिशतको दरले बढेको छ ।

शुक्रवार ललितपुरमा सार्वजनिक भएको निजामती सेवामा समावेशिताको स्थिति न्यून रहेको अध्ययन प्रतिवेदनले देखाएको हो ।

१५ वर्षमा ५.५ प्रतिशतको हिसाबले महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुग्न १३६ वर्ष लाग्ने तथ्यांकले देखाएको छ । सन् २०१२ को तथ्यांकअनुसार नेपालको निजामती सेवामा पहाडिया बाहुन, क्षेत्री समुदायको ६२.९ प्रतिशत र सोही समुदायको महिलाको प्रतिनिधित्व १०.१ प्रतिशत रहेकोमा सन् २०१९ मा आइपुग्दा क्रमशः ६१.२ र १५.६ प्रतिशत देखिएको छ ।

तथ्यांक प्रस्तुत गर्दै आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले सन् २०१२ मा आदिवासी जनजातिको प्रतिनिधित्व १२.५ र २०१९ मा १४ प्रतिशत रहेको बताए ।

यो अवधिमा आदिवासी जनजातिको प्रतिनिधित्व १.५ प्रतिशत वृद्धि भएको उनको भनाइ छ । यस स्थितिमा आदिवासी जनजातिको जनसंख्याको समानुपातिक प्रतिनिधित्व ३५ प्रतिशत पुग्न २१० वर्ष लाग्ने तथ्यांकले देखाएको अध्यक्ष थापाले दलित समुदायको प्रतिनिधित्व सन् २०१२ मा १.७ र सन् २०१९ मा २.८ प्रतिशत रहेको तथ्यांकले देखाएको बताए ।

१५ वर्षको अवधिमा केवल १.१ प्रतिशत मात्रै सुधारिएको उनको भनाइ छ । यही अवस्था रहे दलितको जनसंख्या १३ प्रतिशतको समानुपातिक प्रतिनिधित्व पुग्न १२० वर्ष कुर्नुपर्ने देखिएको बताए । त्यस्तै तथ्यांकले मधेसी समुदायको क्षेत्री व्राम्हण र मधेसी जातको प्रतिनिधित्व सन् २०१२ र २०१९ मा क्रमशः ८.१ र ११.५ प्रतिशत देखिएको छ ।

मधेसी समुदायमा व्राम्हण क्षेत्रीको प्रतिनिधित्व सुधारिए पनि मधेसका अन्य जातको स्थिति चिन्ताजनक रहेको अध्यक्ष थापाले बताए । मधेसी समुदायका प्रतिनिधित्वमा आदिवासी जनजाति र दलितको भन्दा केही सुधारिएको देखिए पनि समानुपातिक प्रतिनिधित्व पुग्नको लागि अझै लगभग ९० वर्ष लाग्ने उनको भनाइ छ ।

मुस्लिम समुदायको प्रतिनिधित्व झनै चिन्ताजनक रहेको उनले बताए । सन् २०१२ मा मुस्लिम समुदायको निजामती सेवामा प्रतिनिधित्व ०.५ र सन् २०१९ मा ०.७ प्रतिशत रहेको छ । यो स्थितिले मुस्लिम समुदायको ५ प्रतिशत जनसङ्ख्याअनुसार समानुपातिक प्रतिनिधित्व पुग्नको लागि १०७ वर्ष कुर्नुपर्ने तथ्यांकले देखाउँछ ।

अधिकृत वा सो भन्दा माथिको तथ्यांक हेर्दा आदिवासी जनजाति, दलित, मधेसी र मुस्लिमको प्रतिनिधित्व सन् २०१९ मा क्रमशः ६.५ र ७.८ (नेवार), १.६, १०.३ र ०.४ देखिन्छ । निजामतीको सबैभन्दा माथिल्लो तह विशिष्ट श्रेणीमा आदिवासी जनजाति, लति, मधेसी र मुस्लिमको संख्या क्रमशः ४ जना, १ र २ जना देखाउँछ ।

अझै पनि निजामती सेवामा एकल भाषा, धर्म र संस्कृति मान्ने (पहाडे बाहुन क्षेत्रीको) समुदायको ६१.२ प्रतिशत र लैङ्गिक हिसाबमा ७५ प्रतिशत पुरुषको प्रतिनिधित्व रहेको अध्ययनले देखाएको छ ।

५१ प्रतिशत महिलाको २५ र जातीय तथा सामाजिक हिसाबले ६५ प्रतिशत भन्दा बढी अर्थात् दुई तिहाइ भन्दा बढी जनसंख्या भएको आदिवासी, जनजाति, दलित, मुस्लिम लगायतको प्रतिनिधित्व एक तिहाइको वरिपरि हुनुले अझै पनि नेपालको निजामती सेवामा लैङ्गिक र सामुदायिक प्रतिनिधित्व नपुगेको अध्ययनको निष्कर्ष रहेको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले निजामित क्षेत्रमा महिलाको उपस्थिति सन्तोषजनक नरहेको बताइन् । उनले आरक्षणमा पनि आरक्षण दिइएका समुदाय भित्रका पछाडि पारिएका वर्गको आधारमा आरक्षण छुट्याउन जरुरी रहेको बताइन् ।

उनले वर्तमान अवस्थामा पनि राजनैतिक, सामाजिक, व्यवसायिक, निजामती, शिक्षण क्षेत्रमा महिलाहरुको उपस्थिति मध्यमवर्गीय वा त्यो भन्दा माथिको परिवारको बढी पहुँच रहेको उल्लेख गरिन् ।

उनले भनिन् ‘यो आरक्षण कसरी भन्ने सन्दर्भमा मलाई के लाग्छ भने यदि हामीले शिक्षाको अवसर, सुरक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको कुरालाई आरक्षण गर्ने हो ? प्राथमिकता दिने हो भने सबैभन्दा त्यो जाति, त्यो वर्ग, त्यो लिङ्ग र समुदाय भित्रको पनि पछाडि परिएकोलाई वर्गको आधारमा अगाडि प्राथमिकतामा ल्याउन पहल गर्नुपर्ने हुन्छ । किनभने त्यो अवसर पाएपछि मात्रै अरु अवसरका कुरा हुन्छन् । तर यहाँ सन्दर्भ निजामती सेवामा छ । निजामती सेवामा आउने भनेको त, जो पढेलेखेको छ, जसले निजामती सेवामा प्रवेश गर्ने योग्यता, क्षमता राख्छ । त्यो मान्छे नै यो ठाउँमा पुग्ने भएकाले स्वाभाविक रुपमा यो त अलिकति पढेलेखेको, जाने बुझेको त्यस्तो एउटा पछि पारिएको र परेको अवस्थामा पनि अलिकति भएपनि अवसर पाएर लेखपढ गरेको मान्छे छ, त्यही मान्छे नै अघि पुग्ने भएकाले निश्चित एउटा मापदण्ड योग्यता नभएको मान्छेले त निजामती सेवामा परीक्षा दिन नै पाउँदैन । अहिलेसम्मको अवस्थालाई हेर्दा यो किसिमले परिभाषित गर्न पनि मलाई त्यति जायज हुँदैन जस्तो लाग्छ । महिलाकै सन्दर्भमा कुरा गर्ने हो भने अहिले पनि जतिपनि महिलाहरू राजनैतिक क्षेत्रमा, सामाजिक, व्यवसायिक, निजामती, शिक्षण क्षेत्रमा हेर्ने हो भने अलिकति मिडिल क्लास र त्यो भन्दा माथिकै वर्गको पहुँच छ । किनभने त्यो वर्गका महिलाले त्यो शिक्षा, चेतनाको अवसर पाए । निजामित क्षेत्रमा महिलाको उपस्थिति जुन छ, त्योप्रति हामी पूर्ण रुपमा सन्तुष्ट हुन सकेका छैनौँ ।’

अध्यक्ष पराजुलीले आदिवासी जनजातिमा शिक्षाको पहुँचलाई बिस्तार गरेर जानुपर्ने आवश्यकता रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =