छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
नवलपरासी पूर्व, बुलिङ्टार गाउँपालिका–१ मोजडाँडास्थित सडकमा लु.४ त २३१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–३ बुलिङटार बस्ने ३५ वर्षीय चन्द्र बहादुर दर्लामीको घटनास्थलमै मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई स्वास्थ्य चौकी बुलिङ्टार पठाएकोमा १ जनालाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवनतर्फ रिफर गरिएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रूपन्देही, देवदह नगरपालिका–६ गिद्धे भिरस्थित सडकमा लु.२ ख ४५०९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा टिपरमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा टिपरमा सवार पाल्पा माथगढी गाउँपालिका रहबास बस्ने ३५ वर्षीया भिमिसरा सारू र २३ वर्षीया सृजना सारूकी छोरी २ वर्षीया प्रसला सारू रहेका छन् ।
दुर्घटनामा घाइते भएका टिपर चालक समेत २ जनालाई उपचारको लागि मेडिकल कलेज भुलही पठाइएको छ ।
त्यस्तै धनुषा, मिथिला नगरपालिका–९ स्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट सोही नगरपालिका–९ सुन्दर बस्तीस्थित सुँगुर फर्ममा काम गर्ने मोरङ घर भएका ५५ वर्षीय मुन्न बास्कोटाको बिहीबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने गाडीको प्रहरीले खोजी गरिरहेको छ ।
अर्का महोत्तरी, गौशाला नगरपालिका–६ फुल्काँहामा ना.४२ प ७०५१ नम्बरको मोटरसाइकल र प्र.२–०२–००५प ५७८० नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई बिहीबार साँझ दुर्घाटना हुँदा ना.४२प ७०५१ नम्बरको मोटरसाइकलमा सवार औरही नगरपालिका–५ बस्ने ७० वर्षीय रामनाथ यादवको मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएका उनको प्राथमिक स्वाथ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल चालकलाई सामान्य उपचार गरी डिस्चार्ज पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।








