शान्ति सुरक्षा चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले देशको सुरक्षास्थिति बारे छलफल गरेका छन् ।
बिहीवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव दिनेश भट्टराई, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग देशको सुरक्षास्थितिबारे छलफल गर्नुभएको हो ।
रक्षा मन्त्रालयमा भएको छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
त्यस अवसरमा खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचन समेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रवन्ध मिलाउन निर्देशन दिए ।
साथै उनले सुरक्षा बहुआयामिक विषय भएकाले त्यस कुरामा विशेष ध्यान दिन आग्रह गरे ।
सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले जातीय, क्षेत्रीय तथा धार्मिक विषयसँग जोडिएका विभिन्न गतिविधिहरूले शान्ति सुरक्षामा पार्नसक्ने नकारात्मक असरबारे विशेष ध्यान दिन समेत निर्देशन दिए ।
उक्त अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भएपनि विभिन्न तरिकाले सञ्चालित गतिविधिहरुलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
बैठकमा मुलुकको समग्र शान्ति सुरक्षाबारे समीक्षा गर्नुका साथै आगामी दिनमा चाल्नुपर्ने कदमहरुबारे छलफल गरिएको थियो ।








