घातक हतियार प्रयोगमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा शान्तिपूर्ण रुपमा हुने प्रदर्शन, भीड र दंगाहरुमा सु्रक्षाकर्मीले घातक हतियार प्रयोग गरेको र नागरिकको ज्यान गएको भन्दै घातक हतियार प्रयोगमा रोक लगाउन माग गरेका हुन्।
त्रिपाठीले बुधबार दायर गरेको रिट बिहीबारका लागि पेशी तोकिएको छ।
उनले प्रहरीलाई दिइने भीड नियन्त्रणको तालिमका क्रममा नै अहिंसात्मक तौरतरिका सिकाउनुपर्ने माग गरेका छन् । त्यो विषयलाई अनिवार्य तालिममा समावेश हुनुपर्ने माग छ।
निवेदनमा भनिएको छ, ‘निहत्था नागरिकमाथि घातक हतियारको प्रयोग गर्ने एवं जीवन अपहरणमा संलग्नमाथि ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने ।’
प्रहरीसँग आत्मसुरक्षाको साधनको अभाव भएको भन्दै उनले त्यसले गर्दा पनि अत्यधिक बल प्रयोग भएको दावी गरेका छन्। प्रहरीलाई पर्याप्त मात्रामा हेल्मेट, सुरक्षा ज्याकेट, बुलेट प्रुफ साधन उपलब्ध गराउनुपर्ने उनको माग छ।








