हानको माग- होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिनुपर्छ

काठमाडौँ । होटल संघ नेपाल (हान) ले होटलहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिनेगरी औद्योगिक व्यवसाय ऐन र नियमावलीमा संशोधन गर्न सरकारसँग माग गरेको छ ।

मंगलवार काठमाडौंमा आयोजना गरेको सत्कार दिवस कार्यक्रममा संघले सरकारसँग यस्तो माग गरेको हो ।

होटलहरु उद्योगमा दर्ता भएपनि सरकारी ऐन, नीति र नियमले सेवा व्यवसायको रुपमा वर्गीकरण गरेका कारण ऊर्जा, पूर्वाधार र भन्सार लगायतका क्षेत्रबाट पाउने सुविधामा सहज व्यवहार नभएको गुनासा संघको छ । कार्यक्रममा बोल्दै संघका अध्यक्ष विनायक साहले होटलहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिनेगरी औद्योगिक व्यवसाय ऐन र नियमावलीमा संशोधन गर्न सरकारसँग माग गरे ।

उनले सरकारको नीति र नियमले होटलहरुलाई सेवा व्यवसायको रुपमा हेर्दा होटलहरुले विद्युत् लगायत अन्य सरकारी सुविधाहरूबाट वञ्चित भएको बताए । उनले भैरहवा क्षेत्रका होटलहरु बैंकको ब्याज र किस्ता समयमा नै तिर्न नसक्दा कालोसूचीमा परेको अवस्था रहेको बताए ।

उनले होटल क्षेत्रका समस्या समाधानको लागि हालको मौजुदा स्थितिको सूक्ष्म समीक्षा सोही अनुरूपको राष्ट्रिय नीति र कार्ययोजना आवश्यक रहेको बताए । पर्यटन क्षेत्रको विद्यमान ऐन नियमहरूमा सुधारको आवश्यकता औँल्याए । सरकारले घोषणा गरेको २०२३ देखि २०३२ को पर्यटक दशक पहिलो वर्ष बितिसक्दा पनि कार्यान्वयन पक्ष मौन रहेको उनको आरोप छ । अध्यक्ष साहले नेपालमा ३५ लाख पर्यटक धान्नसक्ने पर्यटकीय पूर्वाधारहरू बनिसकेको भएपनि होटलहरु ५० प्रतिशत कममा सञ्चालनमा रहेको बताए ।

उनले भने ‘नेपालमा ३५ लाख पर्यटक धान्नसक्ने पर्यटकीय पूर्वाधारहरू बनिसकेको छ । २०२३ मा १० लाख भन्दा बढी पर्यटकहरू भित्रिएका छन् भने सडक मार्ग हुँदै आउने भारतीय पर्यटक र फस्टाउँदै गएको आन्तरिक पर्यटकहरूको संख्या समेत जोड्ने हो भने करिब १७ लाख पर्यटक आगमन भएको अनुमान छ । यसरी हेर्दा सप्लाईको आधा मात्रै माग रहेको देखिन्छ । कतिपय होटलहरु घाटामा सञ्चालन भएको देखिन्छ । भैरहवा क्षेत्रका होटलहरु बैंकको ब्याज र किस्ता समयमा नै तिर्न नसक्दा कालोसूचीमा परेको अवस्था छ । समस्या समाधानको लागि हालको मौजुदा स्थितिको सूक्ष्म समीक्षा सोही अनुरूपको राष्ट्रिय नीति र कार्ययोजना आवश्यक छ । पर्यटन क्षेत्रको विद्यमान ऐन नियमहरूमा व्यापक सुधारको आवश्यकता छ । पर्यटन ऐन २०३५ लाई समय सापेक्ष बनाउनुपर्ने छ । सरकारले घोषणा गरेको २०२३ देखि २०३२को पर्यटक दशक पहिलो वर्ष बितिसक्दा पनि कार्यान्वयन पक्ष मौन रहनु उदेक लाग्दो देखिएको छ । होटलहरु उद्योगमा दर्ता भएपनि सरकारी ऐन नीति नियमले सेवा व्यवसायको मात्रै वर्गीकरण गरेको कारण ऊर्जा,पूर्वाधार र भन्सार लगायतमा सहज व्यवहार प्राप्त गर्न सकेको छैन । होटलहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा दर्जा प्रदानगरी औद्योगिक व्यवसाय ऐन र नियमावलीमा संशोधन गर्न माग गर्दछु । होटल पूर्वाधारअनुसार पर्यटक आगमन वृद्धि गर्न सबैको चुनौती छ ।’

संघका वरिष्ठ उपाध्यक्ष प्रविनबहादुर पाण्डेले पछिल्लो समय होटल क्षेत्रमा भइरहेको लगानीको आयामका कारण पर्यटन उद्योग राष्ट्रिय आर्थिक उन्नतिको क्रममा रहेको बताए । उनले सरकारले राष्ट्रिय राजमार्गको स्तरोन्नति, अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना,प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न गरे पर्यटक आगमन वृद्धि हुने अपेक्षा रहेको बताए ।

उनले २०२३ को पर्यटन आगमनले होटल क्षेत्रमा उत्साह थपिएको बताए । उनले विश्वमा कोभिडपछि ९० प्रतिशत पर्यटक वृद्धि भएको उल्लेख गरे । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरउन्नती, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन ल्याउनुपर्नेमा जोड दिए ।

उनले भने ‘पछिल्लो समय होटल क्षेत्रमा भइरहेको लगानीको आयाम गुणस्तरप्रतिको सजगताले गर्दा पर्यटन उद्योग आर्थिक राष्ट्रिय उन्नतिको क्रममा रहेको छ । राष्ट्रिय राजमार्गको स्तरउन्नति,अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना,प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू,बाह्य पर्यटकमा वृद्धि हुनु र विदेशी मुद्राको प्रवर्द्धनमा प्रत्यक्ष तत्परता देखाउनु होटल क्षेत्रको लागि उत्साहजनक सङ्केतहरू हुन् । विश्वमा कोभिडपछि ९० प्रतिशत पर्यटक वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरउन्नती,पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन ल्याउनु आवश्यक छ । गुणस्तरीय पर्यटन विकासमा होटल संघ नेपाल प्रतिबद्ध छ । कानुनी दायरामा नआएका होटलहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता छ । नेपाललाई उत्कृष्ट पर्यटक गन्तव्य बनाउनको लागि काम गर्न आवश्यक छ । सन २०२५ लाई नेपाल पर्यटन वर्ष घोषणा गर्नको लागि सरकारसँग माग गर्दछौँ । अहिलेको भन्दा दोब्बर पर्यटक ल्याउने पर्यटन व्यवसायी र होटलहरु तयार छौं ।’

गुणस्तरीय पर्यटन विकासमा होटल संघ नेपाल प्रतिबद्ध रहेको उनको भनाई छ । नेपाललाई उत्कृष्ट पर्यटक गन्तव्य बनाउनको लागि काम गर्न आवश्यक छ । उनले सन २०२५ लाई नेपाल पर्यटन वर्ष घोषणा गर्नको लागि सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =