त्रिशूली नदीमा खसेको भारतीय गाडीमा चालक मात्रै रहेको पुष्टि

काठमाडौँ । त्रिशूली नदीमा खसेको भारतीय गाडीमा चालक मात्रै रहेको खुलेको छ ।
उक्त सवारी चालक भारत विहारका सनिककुमार रहेका छन् ।
भारतबाट भैरहवाको सुनौली नाकाहुँदै बोलेरोमा अमला लिएर पुस २९ गते काठमाडौँ आएका सवारी चालक सोमबार फर्किएका थिए ।
कालीमाटीस्थित काठमाडौँ सोलुशन ट्रेडर्समा अमला छाडेर उनी सोमबार त्यहाँबाट सुनौली नाकाहुँदै भारत जान बाटो लागेका थिए ।
काठमाडौं सोलुशन ट्रेडर्सका अनुसार उक्त नम्बरको गाडीले काठमाडौं सोलुशन ट्रेडर्समा अमला छाडेर फर्किएको थियो । त्रिशुलीमा खसेको कुरा भने थाहा नभएको ट्रेडर्सले जनाएको छ ।
दुर्घटनामा परेको गाडीमा चालक मात्रै भएको खुलेसँगै मानवीय क्षति नभएको बुझिएको छ । उक्त गाडीका चालक अर्को गाडीमा नारायणघाट तर्फ लागेको घटनास्थलबाट ट्यांकर चालकले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले उनको खोजि गरिरहेको छ ।
गाडी चालक नारायणघाटतर्फ गएको सूचनापछि उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए । गाडी भने गोताखोरले फेला पारेका थिए । उक्त स्थानमा मानिस फेला नपरेपछि गोताखोर भने फर्किसकेको छ ।
त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।
मंगलवार विहान पौने ५ बजेको समयमा जीप त्रिशूलीमा खसेको थियो । जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।
मुग्लिन नारायणगढ सडकखण्डको ३ नम्बर पुल नजिक त्रिशुली नदीमा पानीभित्र गाडीको लाइट बलेको जस्तो छ भन्दै अपुष्ट सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन गरेको थियो ।
स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो ।
केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको थियो । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको थिएन् ।








