नेपालमा छिट्टै पर्वतीय देशहरूको सम्मेलन हुँदैछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा छिट्टै पर्वतीय देशहरूको सम्मेलन हुने बताएका छन् ।
प्रधानमन्त्री दाहालले पर्वतीय देशहरूमा जलवायु परिवर्तनले पारेका असरबारे छलफल गर्न सो सम्मेलन आयोजना गर्नका लागि सरकारले गम्भीरताका साथ विचार गरिरहेको बताएका हुन् ।
२६ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पर्वतीय देशहरूका लागि संयुक्त राष्ट्र सङ्घले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउन लागेको उल्लेख गर्दै त्यो नेपालका लागि खुसी र गौरवको विषय भएको पनि बताए ।
प्रधानमन्त्री दाहालले स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा मजबुत बनाउने र साधन स्रोत सम्पन्न बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले प्रदेशमा विपद् व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाउने कामलाई पनि सरकारले अघि बढाएको बताए ।
प्रधानमन्त्री दाहालले भने– ‘अहिले पर्वतीय देशहरूको जलवायु परिवर्तनको असरबारे हाम्रै नेतृत्वमा दुबईमा एउटा राउण्डटेबल कन्फरेन्स पनि भयो । पर्वतीय देशहरूको एउटा सम्मेलन वा गोष्ठी छिट्टै नेपालमा आयोजना गर्नेबारे पनि नेपाल सरकारले गम्भीर रुपमा विचार गरिरहेको छ । र हाम्रो निम्ति एउटा अर्को खुसीको कुरा के छ भने छिट्टै यो पर्वतीय देशहरूको सन्दर्भमा हामीले दुबईमा गरेको अपिलको सम्बोधन गर्नेगरी राष्ट्र सङ्घले एउटा विशेष कार्यक्रम पनि राख्दैछ । यो हामी सबैका लागि खुसी र गर्वको विषय पनि हो । ’
प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितहरूको आवास निर्माणका लागि बजेटको अभाव हुन नदिन सरकार सचेत रहेको पनि बताए ।








