भानु नगरपालिकाले ५५ विपन्न नागरिकलाई मासिक ५ हजार दिँदै

तनहुँ । जिल्लाको भानु नगरपालिका कार्यालयले ‘विपन्न नागरिक’ सहयोग कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । मिर्गौला डायलाइसिस, मिर्गौला प्रत्यारोपण, क्यान्सर, मेरुदण्ड र पक्षघात भएकाको उपचारका लागि सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

हाल विभिन्न वडाबाट नगरपालिकामा ती रोगको उपचारका लागि ५५ जनाको नाम सिफारिस भएको छ । उक्त प्रकृतिका बिरामीका लागि मासिक रु पाँच हजार उपचार खर्च उपलव्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको हालै सम्पन्न १३औँ सभाबाट विपन्न नागरिक सहयोग कार्यक्रमका लागि रु ४० लाख बजेट विनियोजन गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

स्वास्थ्य केन्द्रहरुमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँच गर्ने अभियान सुरु गरेको उनले बताए । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि लक्षित जनसङ्ख्याले कोभिडविरुद्धको खोप प्राप्त गरिसकेका छन् । किशोरीहरुको प्रजनन स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम, पोषण स्थिति सुधार कार्यक्रम सञ्चालन गर्दै आएको उपप्रमुख उमा गोतामेले जानकारी दिइन् ।

त्यसैगरी, स्वास्थ्य क्षेत्रको पूर्वाधारतर्फ पुरानडिही नगर अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य अन्तिम चरणमा अगाडि बढेको छ । नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सुविधासम्पन्न अस्पताल निर्माण कार्यलाई प्राथामिकता दिइएको छ ।

कालीमाटी अस्पतालको निर्माणका लागि ठेक्का सम्झौता भएता पनि अस्पताल भवनको डिपीआर अनुसार यकिन गरिएको स्थानमा ‘लेआउट’ गर्दा जग्गा विवाद भएपछि अन्यत्र व्यवस्था गरी निर्माण प्रक्रिया अघि बढाइएको छ ।

तनहुँ नेत्रहीन सङ्घले ज्ञान महायज्ञबाट सङ्कलन भएको रु २५ लाखमध्ये खर्च कटाएर रु १३ लाख बचत हुने भएकाले उक्त रकम अपाङ्गता भएकाहरुका लागि आवाससहितको सीपमूलक तालिम भवन निर्माण गरिने भएको छ ।

व्यास नगरपालिका–५ पाटन निवासी समाजसेवी केबी गुरुङले रु २५ लाख मूल्य बराबरको चार आना दुई दाम जग्गा नेत्रहीन सङ्घलाई प्रदान गरेका छन् ।

आर्थिक वर्ष ०८०/८१ मा सामाजिक विकास तथा समन्वय एकाइबाट रु १० लाख, व्यास नगरपालिकाबाट रु पाँच लाख, म्याग्दे गाउँपालिकाबाट रु दुई लाख भवन निर्माणका लागि विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =