माघी पर्वले सामाजिक सद्भावलाई प्रवर्द्धन गरोस् : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरले माघे सङ्क्रान्ति/माघी पर्वले सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुगोस् भनेर शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आज जारी गरेका शुभकामना सन्देशमा उक्त पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा शुभकामना व्यक्त व्यक्त गर्दै नेपालीबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

माघे सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजाति र समुदायले भिन्नभिन्न नाममा मनाउने गरेका छन् । थारू जातिले माघी पर्वका नाममा नयाँ वर्षका रुपमा मान्ने गर्दछन् भने मगर जातिले माघ्या/सेल्र्हेसका रुपमा मनाउँछन् ।

‘विभिन्न जनजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त सुन्दर मुलुक हो’, सन्देशमा भनिएको छ, ‘नेपालका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वले आपसी एकता तथा सद्भाव स्थापित गर्न भूमिका खेल्दै आएका छन् ।’

माघे सङ्क्रान्ति पर्व नेपालको एक प्रमुख चाड हो । माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । माघे सङ्क्रान्ति पर्व मुलुकभरका नदी तथा त्रिवेणीमा स्नानसँगै मन्दिरमा पूजाआजाका साथै घीउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ ।

मकर सङ्क्रान्तिमा शरीर शुद्ध गरी घीउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =