नेता र कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने बाध्यकारी व्यवस्था गरौं : समिक बडाल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)का अध्यक्ष समिक बडालले समाजवाद उन्मुख राज्य व्यवस्थालाई साकार पार्नेगरी विद्यालय शिक्षा सम्बन्धी विधेयक नआएको बताएका छन् ।
बैठकमा विधेयकको उद्देश्य समेत स्पष्ट नभएको भन्दै उले प्रश्तावनामै संशोधन गर्न आवश्यक रहेको बताए ।
विधेयकले निजी र सार्वजनिक गरी दुई प्रकारको शिक्षण संस्थाको व्यवस्था गरेको भन्दै विद्यालय शिक्षामा नीजि लगानी बन्द गर्नुपर्ने बताए । उनले नीजि शिक्षण संस्थालाई ५/७ वर्षमा सार्वजनिक शैक्षिक गुठीमा ल्याउने बाध्यात्मक परिस्थिति बनाउनुपर्ने बताए ।
उनले विज्ञान, गणित र कम्युटर विषय नेपाली भाषामा समेत पढ्न पाउने व्यवस्था हुनुपर्ने उल्लेख गरे ।
त्यस्तै विदेशी नागरिकले नेपालमा आएर पढ्दा नेपाली भाषा अनिवार्य पढ्नुपर्ने उनको भनाई छ । अध्यक्ष बडालले विद्यालयको प्रधानाध्यापकको नियुक्ति देशभरका स्थायी शिक्षकको प्रतिष्पर्धाबाट गर्नुपर्ने बताए ।
उनले शिक्षकहरुको तलव निजामती कर्मचारीसरह हुनुपर्ने बताए । उनले पनि जनप्रतिनिधि र कर्मचारीहरुको छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने बताए ।
शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष बडालले शिक्षकहरुको सेवा, सुविधासम्बन्धी जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए ।
तर प्रतिष्पर्धात्मक प्रणाली भने खुल्ला राख्नुपर्ने उनले स्पष्ट पारे । उनले शिक्षकहरुको वृत्ति विकासका लागि शिक्षक एकेडेमीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।








