जनकपुरधाममा बैंकहरूविरुद्ध उद्योगी व्यापारीहरूको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । उद्योगी व्यापारीहरूले जनकपुरधाममा बैंकहरूविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
आइतबार पीडित उद्योगी व्यवसायी सङ्घर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैङ्कहरू विरुद्ध प्रदर्शन गरेको हो ।

बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित सङ्घर्ष समितिले निकालेको र्याली राष्ट्र बैंक अगाडी पुगेर धर्नामा परिणत भएको थियो ।
बैङ्कहरूको चर्को ब्याजदरविरुद्ध आफूहरूलाई आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीहरूले बताए । धर्नामा बोल्दै सङ्घर्ष समितिका संयोजक सुधिर पजियारले नेपालीहरूलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैङ्कहरूसँग आग्रह गरे ।

उनले व्यापारीहरूले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्याउँदा समेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको आरोप लगाए ।
उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक निलाम नराख्नुका साथै कलोसूचिमा नराख्न माग गरे ।

व्यापारीहरूले आफूहरूको माग सम्बोधन नभए आगामी दिनमा सशक्त आन्दोलन गर्ने पजियारले बताए ।










