राष्ट्रियसभाका उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने, बैंक छुट्टै खाता अनिवार्य

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको हो ।

सो रकम मतदाता नामावली खरिद, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, अन्तरक्रियालगायत शीर्षकमा गर्न सकिने छ । ‘२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची- १ ले रु ३,५०,०००।- (अक्षेरेपी रू तीन लाख पचास हजार मात्र)सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने छ ।’

आयोगले उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न पनि भनेको छ । ‘उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोग निर्देश गर्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्न समेत आयोग निर्देश गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =