किसानलाई प्रविधिमा अभ्यस्त बनाए संसार परिवर्तन गर्न सकिन्छ –च्यू डोङ्गज्यू

काठमाण्डौै। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफओए) का महानिर्देशक डा. च्यू डोङ्गज्यूले किसानलाई नयाँ प्रविधिमा अभ्यस्त बनाए संसार परिवर्तन गर्न सकिने बताएका छन्।
शनिवार काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकाको महादेवस्थानका किसानसँग कुरा गर्दै उनले प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि गर्न सकिने हुँदा कम लागतमा खेती गर्न किसानलाई ज्ञान दिनु आवश्यक रहेको औँल्याए।
डोङ्गज्यूले असल कृषि अभ्यास जारी राख्न एफओए सधैँ किसानसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए। उनले वातावरणलाई कम क्षति पुर्याएर उच्च कृषि आम्दानी लिन पनि आवश्यक प्राविधिक ज्ञान आवश्यक रहेको तर्क गरे।
‘कृषि उपजको सुरक्षित र स्वस्थ उत्पादनमा ध्यान दिन समेत किसान सचेत रहनुपर्छ ।’ डोङ्गज्यूले भने ‘पर्यावरणीय चक्रलाई नबिथोली प्राकृतिक रूपमा उपलब्ध जैविक प्रविधिलाई प्रयोग गरेर अर्ग्यानिक खेती प्रणालीको विकास गर्नुपर्छ ।’
डोङ्गज्यू तीन दिने नेपाल भ्रमणका लागी गत बिहीबार नेपाल आएका हुन् । उनले नेपालका उच्च अधिकारीहरूसँग भेटघाट गरेका छन् । एफओएले सञ्चालन गरेका विभिन्न कार्यक्रमको निरीक्षण गर्नेक्रममा शनिवार उनी किसानका खेत पुगेका हुन्।
काभ्रेका विभिन्न भेगका किसानलाई एफओएले रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक खेती प्रणालीको विकासमा जोड दिन प्राविधिक सहयोग पुर्याउँदै आएको छ। कृषि मन्त्रालयका सचिव गोविन्द शर्माले यस क्षेत्रका किसानले कार्यक्रम मार्फत प्राप्त गरेको नतिजा किसानबाटै आएको बताए।
मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादर वाइबाले उत्पादनमा प्रविधि विस्तारसँगै बजारीकरण नभए किसानले लाभ लिन नसक्ने बताए। उनले किसानले अधिक लाभ लिने गरी खेती विकास गर्ने बारे स्थानीय सरकार गम्भीर भएको तर सीमित स्रोत र साधन अपर्याप्त हुने भएकाले एफओए र सङ्घीय सरकारले प्राविधिक विस्तारमा सहयोग गर्न आग्रह गरे।
प्रमुख वाइबाले उत्पादित वस्तु बजारसम्म पुर्याउन समस्या भइरहेको हुँदा व्यवस्थित शीतभण्डारको तत्काल आवश्यकता रहेको औँल्याए। किसान समूहका अध्यक्ष महेश्वर दाहालले एफओएको कार्यक्रम संचालनपूर्व यस क्षेत्रका किसानले अन्धाधुन्ध रासायनिक मलको प्रयोग गर्दा अल्पकालीन र दीर्घकालीन समस्या भोग्नुपरेको बताए। हाल सचेतनामूलक विभिन्न कार्यक्रमले जैविक खेतीतर्फ किसानहरू लागि परेको हुँदा स्वास्थ्य सचेतनासँगै कृषि आम्दानीमा वृद्धि हुन थालेको बताए।
पालिका भित्रका मुलाचौर, रानीटार, आँपखोला, जनजागृति, कुन्तावेसीमा वि।सं। २०५५ सालदेखि एकीकृत शत्रुजीवन व्यवस्थापन कार्यक्रम ९आइपिएम्० लागू भएको हो। आइपिएम अन्तर्गत किसानहरूलाई बालीअनुसारको सबलीकरणका विभिन्न कार्यक्रम सञ्चालन भएको किसान समूहका सचिव एवंम कृषि सहजकर्ता राममणी पौडेलले जानकारी दिए।
उनका अनुसार किसानलाई रैथाने बाली प्रवर्द्धन, तरकारी खेतीका लागी टनेलसहितको प्रविधि हस्तान्तरण, रासायनिक विषादी प्रयोगलाई निरुत्साहित गर्दै जैविक विषादी प्रयोगलाई प्रोत्साहन गरिन्छ।
रासायनिक विषादी प्रयोगलाई शून्य बनाउँदै लगेका यस भेगका किसानले प्रत्यक्ष लाभ लिएको स्थानीय शारदा आचार्यले बताइन्। उनका अनुसार महादेवस्थानका किसानहरूले विभिन्न समूह बनाएर असल कृषि अभ्यासमा जुटेका छन्।
उनीहरूले घरमै उपलब्ध हुने जैविक पदार्थलाई उपयोग गरेर रोग किराको व्यवस्थापनमा जुटेका छन्। रासायनिक मल प्रयोग हट्न थालेपछि यस भेगका नदी, खोलामा रैथाने माछा, गँड्यौला जस्ता जलचर जीवहरू प्रशस्त बढ्न थालेका छन् भने प्रशस्त चराचुरुङ्गी देखिएको स्थानीय आचार्यले जानकारी दिइन्।
उनका अनुसार महिलामा देखिने विभिन्न स्वास्थ्य समस्यामा समेत कमी आएको छ। मण्डनदेउपुरका १२ मध्ये ३ वडामा संचालित कार्यक्रमले १ सय ३३ किसान संगठित् छन्।
जसमध्ये महिला मात्रै १ सय रहेका छन्। त्यस्तै ११ जना कृषि सहजकर्ता रहेका छन्। सहजकर्ताहरूले हिउँदेवालीमा काँक्रो, फर्सी, काउली बन्दा, खुर्सानी, आलु इत्यादि बारे जोखिम न्यूनीकरण गर्ने सीप हस्तान्तरण गर्छन् भने उच्च जोखिम आएको बेला कृषि क्षेत्रका माथिल्ला संयन्त्रसमक्ष सहयोग लिएर समाधान गर्ने प्रचलन बसाएका छन्।
त्यस्तै वर्षे बालीमा धानका लाग्ने रोग किराको व्यवस्थापनमा बेलैमा ध्यान पुर्याउने र सीप आदानप्रदान गर्ने प्रचलन रहेको छ।
यसका साथै आइपीएम् कार्यक्रममार्फत ३१ जनाको महिला समूह बनाएर पौष्टिक तत्त्व बढी पाइने रैथाने बाली प्रवर्द्धन गर्दै तिनको संरक्षणका लागी लागि परेको अगुवा किसान शारदा आचार्यले जानकारी दिइन्।








