पर्यटनमन्त्रीको स्वार्थले गर्दा हवाई सेवा सम्बन्धी विधेयक आएन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन पर्यटनमन्त्री र कर्मचारीहरूको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमा विभागीय मन्त्री र कर्मचारीहरूको स्वार्थका कारण नेपाल हवाई सेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक आउन नसकेको बताएका हुन् ।

उनले राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको भएपनि स्वार्थवश प्रतिनिधि सभाबाट पुनः राष्ट्रिय सभामा फिर्ता नआएको बताए । उनले युरोपियन युनियनले नेपालीलाई कालोसूचीमा राखेको अवस्थामा सेवा प्रदायक निकाय र नियामक निकाय एउटै हुनु नहुने प्रावधानसहित विधेयक ल्याउनुपर्ने भएपनि कर्मचारीहरूले सो कुरा स्वीकार गर्न नसकेका बताए ।

उनले वायु सेवा निगमका कर्मचारीहरूले पार्टीका नेताहरूको कुरा सुनेका पनि बताए । उनले अझै पनि सरकारले चाहेमा सो विधेयक ल्याएर पारित गर्नसक्ने भएपनि प्रयत्न नगरिएको बताए ।

उनले भने ‘नेपाल सम्भावना नै सम्भावनाकै देश हो । तर यसको समुचित सदुपयोग गर्न हामीले सकेका छैनौँ । कुरा गर्ने, काम नगर्ने । जिम्मेवारी लिने इमानदार प्रयत्न नगर्ने । यो कुरालाई परिवर्तन गरौँ । कुराभन्दा काम धेरै गरौँ । जिम्मेवारी लिने हो भने पूरा गरौँ । इमानदार प्रयत्न गरौँ । एउटा जिम्मेवारी लिएर अर्को काम गर्नेतिर नलागौँ । जे परिभाषित कामा हो त्यो कुरामा सफल बन्न लागौँ । अरु कुरामा नलागौँ । त्यसमा ऐन, कानुन जे बनाउनुपर्छ त्यसमा इमानदार प्रयत्न भयो भने त्यो हुन्छ । नेपाल वायुसेवा निगम युरोपियन आकाश बन्द भएको थाहा छ । सेवा र नियामक निकाय एउटै हुनु हुँदैन भन्ने नै इयुको पनि त्यही कुरा हो । इमानदार प्रयत्न त्यहाँ कमी भयो । त्यो विधेयक राष्ट्रिय सभामा आयो । राष्ट्रिय सभाले त्यसलाई अत्यन्तै छलफल गरेर, पास गरेर प्रतिनिधि सभा पठायो । प्रतिनिधि सभाले पनि त्यो सबै टुङ्ग्यायो । प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठाएर मैले साइन गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने मात्र काम थियो । केही स्वार्थको लागि, त्यहाँ रहेका कर्मचारी साथीहरूको के स्वार्थ हुन् थाहा छैन, त्यो दुईवटा गरेपछि के समस्या हुने भयो उहाँहरूलाई । ईयुले त्यो दुईवटा नगरी हुँदैन भन्छ । सेवा र नियामक निकाय एउटै हुँदैन भनेकै सुन्छौँ । तर त्यहाँ हुनेहरूलाई एउटै चाहियो । सम्बन्धित पर्यटनमन्त्रीको नेतालाई, कर्मचारी पनि वायुसेवा निगमका कर्मचारी कहाँ हुने ? देशका कर्मचारी भन्दापनि पार्टी पार्टीका कर्मचारी । संगठन ध्वस्त हुन्छ । यो दुईवटा बनायो भने त हाम्रो त्यहाँ केही पनि रहँदैन । भोलि टेबुल गर्ने भनेको आज बेलुका त उहाँ नेताले भन्नुभयो मन्त्री पछि हट्नुभयो भनेर प्रधानमन्त्री कुरा गर्नुहुन्छ । अनि कसरी हुन्छ काम ? भएको त्यत्ति हो । राष्ट्रिय सभामा ल्याएर पास गराउँदा कति लाग्यो ? त्यो जरुरी छैन भन्नुपर्थ्यो । जजसलाई स्वार्थ लाग्छ दुईजना मान्छे गएर कुरा गरेपछि त्यही कुरा सुन्ने हो भने अनि त्यस्तो नेताले देश चलाउने, त्यस्तो मन्त्रीले देश चलाउने, म जस्तो अध्यक्ष हुने हो भने देश कहाँ बन्छ त ? यही हो कुरा बिग्रेको । हामी निहित स्वार्थतिर लाग्यौँ । देश बनाउनतिर लागेनौँ । समस्या त्यहाँनिर हो । देश बनाउन इमानदार प्रयत्नले लागौँ । बनिहाल्छ । त्यही विधेयकलाई पनि अहिले केही गर्नै परेको छैन ।’

उनले नेताहरू निहित स्वार्थमा लागेका पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =