संक्रमणकालीन विधेयक सहमतिबाटै टुङ्ग्याउने ठाउँमा पुगिसकेको छ : सन्तोष परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुङ्ग्याउने ठाउँमा पुगिसकेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक दलहरू सहमतिको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुङ्ग्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले अप्ठ्यारा महसुस गरिएको ठाउँमा उदारता देखाएर भएपनि विधेयक टुङ्ग्याउनुपर्ने बताए ।
उनले भने ‘हामी धेरै नै नजिक भइसकेका छौँ । यो टुङ्ग्याउने ठाउँमा पुगिसकेका छौँ । बाँकी जो छन् यसमा पनि छलफल गरेर एक ठाउँमा लैजान सकिन्छ । जतिपति अप्ठ्यारा महसुस गरिएको छ, यसमा हाम्रो अलिकति व्यवहार, अनुभवबाट पन हेर्नुपर्छ । यसमा सङ्क्रमण कालीन न्यायको परिधिभित्र बसेर छलफल गर्नुपर्छ । संक्रमणकालीन न्याय जिम्मेवारी बोध र उदारतापना बिना सम्भव भएको छैन । सीमितता हुनु भएन ।’
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताए । उनले विधेयकलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु नहुने बताए ।
उनले भने ‘सहमतिबाट टुंगो लगाऔँ । प्रक्रियाबाट अघि बढाउने काम सकभर नगरौँ । किनभने हामीभित्र यतिमा पनि एउटा सहमति बन्न सकेन । यसलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु हुँदैन । किनभने पार्टीका सिद्धान्तहरू फरक फरक हुन्छन् । त्यस भन्दा माथि उठेर गर्नुपर्छ । अझै पनि दुई महिना थपौँ । टुङ्ग्याऔँ ।’
सांसद प्रधानले अझै केही समय थप गरेर सहमतिबाटै विधेयक टुङ्ग्याउनुपर्ने बताए ।








