एमालेले भन्यो– भारतसँग गरिएको २० करोडको सम्झौता राष्ट्रघात हो

काठमाडौँ ।नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दुतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाएका छन् ।

बुधवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको जिकिर गरे ।

उनले यो सम्झौताले नेपालको स्वाधीनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको बताए । उनले सम्झौताले स्वाभिमानको जरा काट्ने काम भएको बताए । उनले भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपि सांसदहरूले पाउनुपर्ने बताए ।

उनले भने ‘प्रधानमन्त्रीज्युले केही कुरा त बताउनु भयो । तर भएको सम्झौता के हो ? सम्झौताको प्रति संसदले संसद नचलेको बेलामा यो विषयगत समिति र यो समिति अन्तर्राष्ट्रिय सन्धि र सम्झौतासँग हाम्रो क्षेत्राधिकारको विषय पनि हो । त्यो हामीले जानकारी पाउनुपर्छ । मान्य सभापतिज्यूमार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, त्यो भएको सम्झौताहरू जस्ताको त्यस्तै त्यसको प्रति सदनलाई जानकारी गराइयोस्, सदन नभएको कारणले यो विषयगत समितिमा उपलब्ध गराइयोस् । भारतसँग ५ करोडको जे कार्यान्वयनको प्रक्रिया थियो, त्यो प्रक्रियाका सम्बन्धमा नेपालमा अरु पार्टीका पनि सरकार थिए भन्ने संकेत गर्नुभएको छ । कतिपय कमजोरी बीचमा भएका भएपनि अहिलेको सरकारले सच्याएर नयाँ ढंगबाट जाने हो, कमजोरीलाई सिरानी हालेर अर्को कमजोरी गर्न मिल्छ ? नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो ? नेपालको स्वाधीनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ ? यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ ? सम्झौताप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले देशको राष्ट्रघात भएको छ । स्वाभिमानको जरा काट्ने काम भएको छ ।’

सचेतक बर्तौलाले भारतसँग भएको सम्झौताको दोष अरु सरकारलाई देखाएर पन्छिन नमिल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =