गणतन्त्रवादीहरूको समर्थनमा बने राजावादी सभामुख

काठमाडौं । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट सर्वसम्मत चयन हुनुभएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट सर्वसम्मत सभामुखमा चयन भएको घोषणा गर्नुभएको हो । तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेपछि कोशी प्रदेशको सभामुख पद रिक्त थियो । प्रदेशसभा सचिवालयले मंगलबार संविधानको धारा १८२ तथा कोशी प्रदेशसभा नियमावली २०७४ को नियम ७ बमोजिम कोशी प्रदेशसभाको सभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । सभामुख पदका लागि विष्टको मात्र उम्मेदवारी दर्ता भएपछि सर्वसम्मत हुनुभएको हो ।

प्रदेशसभा बैठकमा राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला तथा समर्थक प्रेमराज थाम्सुहाङले विष्टको एकल उम्मेदवारी परेको भन्दै निर्वाचित गर्न प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । विष्टलाई सत्ता गठबन्धनसहित प्रतिपक्ष एमाले संसदीय दलले पनि समर्थन गरेपछि निर्विरोध चयन हुन सफल हुनुभएको हो । विष्टले मंगलबार नै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

यसअघिका माओवादी केन्द्रबाट चुनिनुभएका सभामुख गौतमले राजीनामा दिएर कांग्रेसका उद्धव थापा नेतृत्वमा गठन भएको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको थियो । थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि अहिले कोशीमा एमालेको सहयोगमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसकै केदार कार्कीको नेतृत्वमा सरकार छ ।

झापा गौरदहका ७० वर्षीय विष्ट समानुपातिक तर्फका प्रदेशसभा सदस्य हुनुहुन्छ । विष्ट विद्यार्थी कालमा २०२७ सालमा अनेरास्ववियुमा आबद्ध हुनुहुन्थ्यो । उहाँ २०३२ सालदेखि पञ्चायतको समर्थक बनेको राजनीतिक पृष्ठभूमि छ । ०३३ सालमा झापाको जुरोपानी गाउँ पञ्चायत वडा ५ का अध्यक्षमा निर्वाचित विष्ट त्यसपछि उपप्रधानपञ्च हुँदै एक दशकसम्म जिल्ला पञ्चायतको उपसभापति रहनुभएको थियो । उहाँ बहुदलीय व्यवस्था स्थापना भएपछि राप्रपामा सक्रिय रहँदै सहरी विकास बोर्डको सदस्यसचिवमा नियुक्त हुनुभएको थियो । राप्रपा झापाको आठ वर्ष पार्टी अध्यक्ष रहनुभएका विष्ट अहिले पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ ।

संघीयताको विरोध गर्दागर्दै प्रदेश सभामुख
२०७९ पुस २६ गते कोशी प्रदेशको दोस्रो प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकमा पहिलोपटक सम्बोधन गर्नुभएका सांसद अम्बरबहादुर विष्टले प्रदेश संरचना खारेजीको विषय उठाउँदै भन्नुभएको थियो, ‘यो प्रदेश राखिराख्नु उपयुक्त हुन्छ कि खारेज गर्न उपयुक्त हुन्छ भन्ने छलफलको विषय छ । देशलाई ठूलो आर्थिक भार भएर भोलि हामी इथियोपिया जस्तो हुने अवस्थामा त पुग्दैनौँ ?’ त्यसयताका प्रदेशसभा बैठकमा पनि उहाँले प्रदेश संरचना बोझ भएको टिप्पणी गर्न छोड्नुभएन । सार्वजनिक कार्यक्रममा पनि प्रदेश संरचनाको विरोध गरिरहनुभयो । संघीयता र प्रदेश संरचनाको विरोध गर्दागर्दै विष्ट सर्वसम्मत रूपमा सभामुखको कुर्सीमा पुग्नुभएको छ । त्यसो त सभामुख विष्टको पार्टी राप्रपाले वर्तमान संविधान र व्यवस्थाविरुद्ध आगामी फागुनदेखि सडक र सदन आन्दोलन गर्ने औपचारिक निर्णय नै गरेको छ । केन्द्रमा पार्टीले तय गरेको रणनीतिविरुद्ध हुने गरी सभामुखमा चुनिनुभएका विष्टले आगामी दिन प्रदेशसभाको कमाण्डलाई कसरी अगाडि बढाउनुहोला चासोको विषय बनेको छ । हुन त राप्रपाले संस्थापक रूपमा विष्टलाई सभामुखको लागि अगाडि सारेर यसअघि नै द्वैध चरित्र देखाएको छ । कोशी प्रदेशको सभामुखमा विष्ट निर्वाचित भएसँगै वर्तमान व्यवस्थाविरोधी दल राप्रपाले दुई प्रदेशसभाको नेतृत्व सम्हाल्न पुगेको छ । बागमती प्रदेशमा राप्रपाका सांसद भुवन पाठक सभामुख हुनुहुन्छ ।

सबैसँग समन्वय गरेर अघि बढ्छु : सभामुख विष्ट
कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राप्रपाका प्रदेशसभा सदस्य विष्टले मंगलबार सभामुखमा निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिँदै भन्नुभयो, ‘सबै दलका नेताहरूसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु ।’ पार्टीले प्रदेश खारेजीको माग राखेको छ, तपाईँ चाहिँ सभामुख हुनुभयो नि ? भन्ने प्रश्नमा सभामुख विष्टले भन्नुभयो, ‘मैले मात्र होइन, अरूले पनि पाउनुभएको छ । बागमतीमा पनि हुनुहुन्छ, लुम्बिनीमा हुनुहुन्छ ।’

राप्रपामा विवाद सुरु
कोशी प्रदेशमा सभामुख लिएको विषयलाई लिएर राप्रपामा विवाद भएको छ । प्रदेशको नेतृत्वले सभामुख लिएपछि डा. प्रकाशचन्द्र लोहनीले निर्देशक समितिको बैठक राखेर विष्टलाई फिर्ता गर्न निर्देशन दिनुभएको छ । कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनले सभामुख लिन आग्रह गर्दै आएको थियो, तर राप्रपालाई राष्ट्रिय सभामा एक सिट दिनुपर्ने सर्त राख्यो । सत्ता गठबन्धनले त्यसको सुनुवाइ नगरेपछि सभामुख मात्र भए पनि लिन राप्रपा तयार भएको हो । २४ पुसका लागि प्रदेश सभाको बैठक पूर्वनिर्धारित थियो । मंगलबार बिहानै उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढ्यो । संसदीय दलका नेता भक्ति सिटौला प्रस्तावक र राप्रपाकै प्रेमराज थामसुहाङ समर्थक बसेर अम्बरबहादुर विष्टले उम्मेदवारी दर्ता गर्नुभयो । तर, उहाँ सभामुख निर्वाचित नहुँदै नेता डा.प्रकाशचन्द्र लोहनीले पार्टीको निर्देशक समितिको बैठक बोलाउनुभयो । मलेसिया जानुभएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन नेपाल आइपुग्नु भएको थिएन । त्यसैले डा.लोहनीले महामन्त्रीहरू समेत रहेको निर्देशक समितिको बैठक बोलाउनुभएको थियो ।

पार्टी कार्यालयमा बसेको बैठकमा उपाध्यक्ष बुद्धिमान तामाङ, हेमजङ गुरुङ लगायतका नेताहरू भने थिएनन् । नेता लोहनीसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा सभामुख लिन नहुने पक्षमा हुनुहुन्थ्यो । बैठकले त्यही निर्णय लियो । त्यसअनुसार प्रदेश समितिलाई लेखेर पठाउन पार्टी कार्यालयका अधिकारीहरूलाई निर्देशन भयो । बैठकको निर्णयबारे जानकारी दिँदै निर्देशक समितिका संयोजक डा.लोहनीले भन्नुभयो, ‘हामी संविधान संशोधन हुनुपर्छ भनेर आन्दोलनमा जाने तयारी छौँ । जसको विरुद्धमा आन्दोलन गर्ने भनिएको हो, त्यसको रक्षा गर्ने पद लिन मिल्दैन ।’

तर, निर्देशक समितिको निर्णय प्रदेशमा नपुग्दै कोशीमा प्रदेशसभा बैठक सुरु भयो । प्रस्तावक राप्रपा संसदीय दलका नेता सिटौलाले विष्टलाई सभामुख बनाउने प्रस्ताव राख्नुभयो । सांसद थामसुहाङले समर्थन गर्नुभयो । एकजनाको मात्र उम्मेदवारी परेकाले राप्रपा प्रदेशसभा सदस्य विष्ट सभामुखमा निर्विरोध निर्वाचित घोषणा हुनुभयो । कोशीमा त पार्टीका प्रदेशसभा सदस्य विष्ट सभामुख निर्वाचित भइसक्नु भयो नि ? भन्ने प्रश्नमा राप्रपा नेता लोहनीले पार्टीको निर्णयविपरीत जान नमिल्ने टिप्पणी गर्नुभएको छ । पार्टी अध्यक्षकै नेतृत्वमा केही दिन पहिले बसेको बैठकले सभामुख पद नलिने निर्णय गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘फिर्ता गर भनेका छौँ । राजीनामा दिएर भने पनि गर्नुपर्छ ।’

सत्ता गठबन्धनको बाध्यता
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ । वर्तमान सरकार जोगाउन सभामुख पद नेकपा एमाले वा राप्रपामध्ये कुनै एउटालाई बुझाउनुपर्ने बाध्यता गठबन्धनलाई थियो । किनकि गठबन्धन दलसँग ४७ सांसद मात्रै छन्, जुन टुप्लुक्क बहुमत हो । एमालेसँग चिढिएको गठबन्धन दलले सरकार जोगाउनका लागि राप्रपालाई सभामुख दियो । अब गठबन्धनसँग राप्रपासमेत गरेर ५३ प्रदेशसभा सदस्य भएका छन् । कोशी प्रदेश सभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक सांसद छन् । प्रतिपक्षमा रहेको नेकपा एमालेसँग ४० सिट छ । –हिमालय टाइम्सबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *