सभामुख र आयरलयाण्डको माथिल्लो सभाका अध्यक्षबीच भेट(भिडिओ)

काठमाडौँ । सभामुख देवराज घिमिरे र आयरलयाण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच दुई देशको सम्बन्धका बिस्तार र संसदमा आपसी सहयोगका बारेमा छलफल भएको संघीय संसद सचिवालयका कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले बताए ।

उनले सभामुख घिमिरेले आफू आयरल्याण्ड भ्रमण जाँदा राखेका संसदीय अभ्यासका सहयोग र आयरल्याण्डमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कुराहरू उठाएको बताए । सभामुख घिमिरेले चीन र भारतको जस्तै नेपाली नागरिकलाई पनि बेलायतको भिसा लिएको खण्डमा आयरल्याण्ड भ्रमण गर्न अनुमति दिनुपर्ने कुरामा जोड दिएको कार्यवाहक महासचिव पाण्डेयले बताए ।

जवाफमा अध्यक्ष बट्टिमरले आफू उठेका प्रश्नमा गम्भीर रहेको र आयरल्याण्डमा नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति दिने कुरा अघि बढाउन भ्रमणपछि स्वदेश फर्किए लगत्तै आयरल्याण्डका शिक्षामन्त्रीसँग कुरा राख्ने प्रतिबद्धता जनाएको पनि कार्यवाहक महासचिव पाण्डेले बताए ।

उनले भने ‘५ जनाको टोली सोमवार आउनुभएको थियो । उहाँहरुले आज सम्माननीय सभामुखज्यूसँग भेट गर्नुभयो । उहाँहरूको बीचमा दुई देशको सम्बन्धका बारेमा कुरा भयो । दुई देशका संसदको आपसी सहयोग कसरी हुनसक्छ रु भन्ने विषयमा महत्वपूर्ण छलफल भएका छन् । सभामुखज्यू आयरल्याण्ड भ्रमणमा जाँदा उठाउनुभएका विषय नेपाल र आयरल्याण्डको बीचमा पाल्र्यामेण्ट्री सपोर्ट कसरी हुनसक्छ रु भन्नेबारेमा छलफल भएको छ । नेपालका विद्यार्थीहरूलाई छात्रवृत्ति दिनुपर्छ भन्नेकुरामा छलफल भयो । युकेको भिसा लिएका नेपालीहरूलाई आयरल्याण्ड भिजिट गर्न दिनेकुरा उठाउनु भयो । संसदीय अभ्यास र जानकारी साटासाटका कुराहरू पनि छलफल भयो । यो सवालमा उहाँहरू सकारात्मक हुनुहुन्छ । आयरल्याण्डको राष्ट्रिय सभा अध्यक्षले सभामुखको भिजिटका क्रममा उठेका कुराहरू स्मरण गरिहरेको र त्यसलाई कार्यान्वयन गर्न लागिरहेको बताउनु भयो । एजुकेसनको बारेमा सकारात्मक भएको बताउनु भयो । आयरल्याण्डमा नेपाली विद्यार्थीहरूका लागि स्कलरसिप खोज्नेकुरामा सकारात्मक कुरा भएको छ ।’

भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दाहरूमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमवार बिहान नेपाल आएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च पदस्थ व्यक्तिसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =