सांसद सुनिल शर्माको दाबी- सरकारले चाहे हप्तादिनमै बीमितले उपचार पाउँछन् तर राज्य कमिसन धन्दामा छ 

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बिमा गरेका बिमितले उपचार पाउनसक्ने बताएका छन् । कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा सांसद शर्माले यस्तो बताएका हुन् ।

उनले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभई कमिसन धन्दामा लागेको आरोप लगाए । सरकार जनताको उपचारमा भन्दा कमिसनको खेलमा ठूलाठूला ठेक्का निकाल्ने र ठेक्का कसरी आफू निकटका ठेकेदारलाई पार्ने भन्ने धन्दामा लागेको उनको आरोप छ । सोमबार नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको सहयोगमा आमचोक गाउँपालिकामा र मंगलबार हतुवगडीमा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । स्वास्थ्य उपचारको सहज पहुँचबाट वञ्चित नागरिकलाई सेवा दिने उद्देश्यका साथ शिविर सञ्चालन गरेको सांसद शर्माको भनाई छ ।

उनले भने, ‘मुलुकभर जुन ठाउँमा चाहे सरकारी होस्, चाहे निजी होस् । हरेक अस्पतालहरूमा बिमितहरुले उपचार पाउनेगरी उपचार सम्भव छ । यो काम एक हप्ताभित्र गर्न सम्भव छ । तर राज्य गर्दैन । मतलब छैन । ठूलाठूला डिल कसरी गर्ने रु टेण्डर खोल्दा आफूले भनेका कम्पनीहरूलाई कसरी पार्ने ? कति अर्बको टेण्डर आफ्नो पालामा खोलिसक्ने ? माथिदेखि तलसम्म नेताहरूको सेटिङ मिलाएर पैसा कसरी खाने यत्ति छ । हामी त्यसै बोलिरहेका छैनौँ । अहिले नेपालका शीर्ष नेता मात्रै होइन, कर्मचारीहरू पनि करका हाकिम, अख्तियारका हाकिम, राष्ट्र बैंकका गभर्नरदेखि लिएर अन्य मानिसहरूको अर्बौंको सम्पत्ति विदेशमा छ । दुबईमा कति नेपालीका बंगलाहरु छन् । हामीले यहाँ गाउँमा एउटा झोलुंगे पुल बनाउन वर्षौंसम्म संघर्ष गर्नुपर्छ, एउटा कुलो बनाउन वर्षौंसम्म संघर्ष गर्नुपर्छ ।’

दुई पालिकामा हुने शिविरमा हस्पिटलको विशेषज्ञ डाक्टरहरूबाट सेवा प्रदान गरिनेछ । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग लगायतका विभिन्न १३ वटा परीक्षणहरू हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fourteen =