सेनामा भर्ती भएका नेपालीलाई रुसी राहदानी र नागरिकता

काठमाडौं । सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन लाहुरे सिपाही दाइ भन्दै रुसी सेनामा भर्ती भएका स्याङ्जाका हरिप्रसाद अर्यालको मृत्यु भयो । अक्टोबर १५ मा फेसबुक स्टाटस लेख्दै यसरी हाँस्नुस् कि जिन्दगी फर्केर आओस् । मरुभूमिमा पनि पानी फर्केर आओस् । मनमा खुसी कहिल्यै छैन, केही त गर्नैपर्छ कि हाँसो फर्केर आओस् भनेर लेखेका थिए ।

अक्टोबर २८ तारिखका दिन पनि रुसी सेनाको पोसाकमा सजिएर आफैंले गीत गाउँदै हरि अर्यालले फेसबुकको रिल्समा भिडियो पोस्ट गरेका थिए । भिडियो पोस्ट गरेको २ महिनामै रुस र युक्रेनबीचको युद्धमा परेर अर्याल सदाका लागि संसारबाट बिदा भएका छन् । समयले जहाँ पु¥याए पनि हाँस्न र रमाउन छोडिएन । माया र लडाइँमा सबै कुरा जायज हुन्छ भन्थे होइन रहेछ भन्ने उनी अहिले भने अस्ताएका छन् ।

नेपाली सेनामा भर्ती भएका उनी तीन वर्ष नपुग्दै सेनाको जागिर छोडेका थिए । गत कात्तिक ३ गते उनी एक एजेन्टमार्फत भिजिट भिसामा दुबई हुँदै रुस पुगेर रुसी सेनामा भर्ती भएका थिए । सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय थिए ।

उनी डिसेम्बर ४ मा हतियारसहित गुडिरहेको रुसी सेनाको गाडीमा सहकर्मीसँग भिडियो बनाउँदै लेखेका थिए, ‘यस्तै छ जिन्दगी, बाँचे भेट मरे त यत्तिकै ।’ त्यसै दिनदेखि उनी परिवार र आफन्तको सम्पर्कमा आएनन् । त्यसपछि सम्पर्कमा नआएका उनको मृत्युको खबर आएपछि अहिले उनको गाउँ नै शोकाकुल बनेको छ ।

रुसी सेनामा भर्ती भएका नेपाली र तिनका परिवारले रुसी राहदानी र नागरिकता पाउने
रुसी सेनामा भर्ती हुन गएका नेपालीहरूले रुसको नागरिकता र राहदानी पाउने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वको समयमा देशको सशस्त्र बल वा अन्य सैन्य एकाइमा सेवाका लागि साइन अप गर्ने विदेशीलाई रुसी राहदानी प्राप्त गर्ने अधिकार प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेको रुसी सरकार नियन्त्रित टेलिभिजन नेटवर्क आरटीले जनाएको छ ।

विदेशी नागरिकका लागि रुसी आईडी सुरक्षित गर्न आवेदन सम्बन्धित कागजात आन्तरिक मन्त्रालयमा पेस गरेपछि एक महिनाभित्र विचार गर्नुपर्छ । केही डाटालाई थप प्रमाणीकरणको आवश्यकता परेको अवस्थामा म्याद तीन महिनासम्म बढाउन सकिने जनाएको छ । सूचना नीतिमा राज्य ड्युमा समितिका प्रमुख अलेक्जेन्डर खिन्स्टाइनका अनुसार यस कदमले रुसका लागि लडाइँमा भाग लिएका विदेशीलाई अन्य देशमा सुपुर्दगी गर्नुपर्ने समस्या समाधान गर्न मद्दत गर्न सक्छ ।

नोभेम्बर २०२२ देखि विदेशीलाई रुसी सेनासँग सम्झौतामा हस्ताक्षर गर्न अनुमति दिइएको छ । यद्यपि, प्राकृतिकीकरणका लागि सरलीकृत मार्ग पहिले मात्र कम्तीमा एक वर्षको सेवामा प्रतिबद्ध भएकालाई मात्र लागू गरिएको थियो ।

गत महिना, रुसी रक्षामन्त्री सर्गेई सोइगुले भनेका थिए कि देशको सैन्य एकाइमा सामेल हुने ‘विदेशी स्वयंसेवकहरू’ को संख्या गत वर्षको तुलनामा सात गुणा बढेको छ । उनले यकिन संख्या भने खुलाएनन् ।

बिहीबार पनि, रुसी रक्षा मन्त्रालयले युक्रेनी पक्षमा लडिरहेका विदेशी भाडाको तथ्यांक प्रकाशित ग¥यो । यसको अनुमानअनुसार, २०२२ को फेब्रुअरीमा मस्को र कीभबीचको द्वन्द्व सुरु भएदेखि १३ हजार ५ सयभन्दा बढी सैनिक देशमा आइपुगेका छन् ।

कुल ५ हजार ९ सय भाडाका सैनिक मारिएका छन् भने ५ हजार ६ सयभन्दा बढी युद्धक्षेत्रबाट भागेका छन् । मन्त्रालयका अनुसार हाल युक्रेनी सेनाको श्रेणीमा विदेशीको संख्या १ हजार ९ सयभन्दा बढी रहेको छ । रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न ३ देखि ४ हजार जनासम्म नेपाली रुसी सेनामा भर्ती भएका त्यहाँ रुसी सेनामा कार्यरत नेपालीले बताउने गरेका छन् ।

रुस र युक्रेनमा श्रम स्वीकृति बन्द
सरकारले युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिक रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मलाई स्थगन गरिएको विभागले जनाएको छ ।

‘रुसी सेनामा गएर नेपाली मृत्यु भएको खबर आइरहेको भन्दै विभागले अध्ययन तथा छानबिन पनि भइरहेकाले हाललाई श्रम स्वीकृति रोकेको जनाएको छ । हालसम्म रुसी सेनमा गएर १० जना नेपालीको मृत्यु भइसकेको छ भने रुसी सेनामा भर्ना भएका चार जना नेपाली युक्रेनी सेनाको कब्जामा रहेका छन् ।

यस्तै, अबुधाबीस्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै रुस जान चाहने नेपालीले नो जब्जेसन लेटर (एनओसी) लिनुपर्ने जनाएको छ । सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेसा व्यवसायमा संग्लन भएकाबाहेक यूएईमा बसोबास गर्ने अन्य सर्वसाधारण नेपालीले रुस भ्रमण गर्नुपरेमा दूतावासबाट एनओसी लिएर मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ ।

पछिल्लो समय नेपालबाट भिजिट भिसामा यूएई हुँदै सयौं नेपाली रुस पुगेर रुसी सेनामा भर्ती भएको खबर आइरहेकाले अनिवार्य एनओसी लिनुपर्ने व्यवस्था गरिएको दूतावासले जनाएको छ । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *