वर्तमान गठबन्धन सरकारले देश हित विपरीत काम गर्याे : झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हित विपरीत भएको दाबी गरे । उनले छिमेकी देशले दिने अनुदान आफूहरू सहस्र स्विकार्न तयार रहेको तर कुनैपनि देशको दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशको लागि नराम्रो भएको उल्लेख गरे ।

उनले भने ‘नेपाल दक्षिण एसियाको सबैभन्दा जेठो र पुरानो मुलुक पनि हो । हाम्रो देशलाई अहिलेसम्म कसैले प्रभुत्वमा राख्न सकेका छैनन् । त्यसैले नेपालको स्वतन्त्रता दिवस पनि छैन । यस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुराहरू हाम्रो राष्ट्रको हितको कुरा हुँदैन । हाम्रो देशको स्वतन्त्रता र सार्वभौम सत्ता अनकुल हुँदैन । यो राष्ट्रिय हित विपरीत हुन्छ । यो कुरा ३ करोड दिने कुरा गरियो, त्यस बेलादेखि नै गलत हो । त्यसपछि ५ करोड बनाउने कुरा पनि गलत हो र अहिले २० करोड बनाउने कुरा पनि गलत हो । यदि छिमेकी देश भारतले हामीलाई अनुदान दिने हो भने कति अर्ब, कति खर्ब दिने हो, त्यो हामी लिन्छौँ र मुरीमुरी धन्यवाद दिन्छौँ । नेपाल सरकारले योजना बनाएर यो देशको विकास गर्ने हाम्रो अधिकारलाई हामी सुरक्षित राख्छौँ। यो अधिकार यो गठबन्धन सरकारले सुरक्षित राख्न सकेन । त्यस कारणले यो राष्ट्र हित विपरीतको कुरा हो ।’

सम्मानित नेता खनालले राष्ट्रिय हितलाई सर्वोपरि राखेर कुनैपनि सरकारले अघि बढ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =