भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालस्थित भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड रुपैयाँ सिधै खर्च गर्न नपाउने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीवार काठमाडौंस्थित भारतीय दुतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको स्वीकार गर्दै दुतावसाले सिधै मनलाग्दी खर्च गर्न नपाउने बताए । भारतीय दुतावासले जहाँ मन लाग्छ त्यहीँ गएर लगानी गर्न नपाउने र त्यसको लागि प्रक्रिया रहेको उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मान्यज्युले राख्नुभयो यो निर्माण गर्दा भारतले मात्रै गर्ने हो की भन्ने यो होइन । त्यस्तो कुनै प्रावधान छैन । सरकार यो विषयमा गम्भीर छ । संवेदनशील छ । कुनैपनि देशले हाम्रो पावर प्रोजेक्ट अघि बढाउन सहयोग गर्नसक्छ, उनीहरुको लगानी हुनसक्छ, जताबाट लगानी भएर उत्पादन भएको भएपनि १० हजार मेगावाट लिने सम्झौता मात्रै भएको हो । अरु भएको होइन । चीनको प्रतिनिधि मण्डल आउनेबारे भारतीय विदेशमन्त्रीले मसँग कुरा गरे भन्नेकुरा बिल्कुल सत्य होइन । एक शब्द पनि उच्चारण गर्नुभएन, मैले त्यसको बारेमा जवाफ दिनु पनि परेन । वान टु वानमा पनि कुनै चासो राख्नुभएन । २० करोडको बारेमा यहाँ अघि मान्यज्युले भनेकै कुरा सत्य हो । ३ करोडबाट शुरु भएर ५ करोड हुँदै २० करोडसम्म भयो । हामीले मन्त्रीपरिषद्मा यो बारेमा लामो छलफल गरेर गरेका हौँ । मन्त्रीपरिषद्मा त्यो बारेमा लामै छलफल गरेका थियौँ । भारतले जहाँ पायो, त्यहीँ लगानी गर्ने, जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने त छैन, त्यसको प्रक्रिया छ, प्रक्रियाबाट गएर मात्रै हुन्छ । यसलाई बढी व्यवहारिक बनाउनेमा मेरो ध्यानाकर्षण भएको छ ।’
उनले भारतीय विदेशमन्त्री एस जयशंकरले एकैदिन चिनियाँ प्रतिनिधिमण्डललाई बोलाएको विषयलाई लिएर आफूसँग कुनै कुरा नगरेको स्पष्ट पारे । प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने आग्रह गरेका हुन् ।
यो पनि : म’बाट राष्ट्र हित प्रतिकूल सम्झौता हुन्छ भन्ने कल्पना पनि नगर्नुस् : प्रधानमन्त्री








