धान उत्पादन ५० प्रतिशतले कमी हुने देखिएको छ : सरकार

काठमाडौँ । आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यन्न मौज्दातमा मुलुक सहज अवस्थामा नभएको सरकारले बताएको छ ।
सरकारले गत वर्षको तुलनामा धान उत्पादन ५० प्रतिशत कमी हुने देखिएको भन्दै खाद्यन्न मौज्दातमा सहज अवस्थामा नहुने आँकलन गरेको हो ।
सरकारसँग बजारको मूल्य नियन्त्रण गर्ने गरी खाद्यन्न मौज्दात समेत नहुने अवस्था रहेको स्वीकार गरेको छ । खाद्यान्नको आन्तरिक उत्पादन र आयातका आधारमा १० प्रतिशत मौज्दात हुनुपर्नेमा १ प्रतिशत मात्रै पनि मौज्दात नरहने सरकारले जनाएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले यस्तो बताएका हुन् ।
उनले गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन करिब ५० प्रतिशत कमी आउने कृषि मन्त्रालयबाट सूचना आएको बताए । उनले मुलुकको आन्तरिक खाद्यन्न उत्पादनको हिसाब सहज अवस्थामा नभएको उल्लेख गरे । उनले भण्डारणको व्यवस्थामा पनि सरकारले न्यूनतम राख्नुपर्ने मौज्दात पूरा गर्ने क्रममा रहेको बताए ।
उनले धान खरिदमा कतै कमजोरी भयो भने कम खरिद गर्नसक्ने अवस्था भए चामलबाट पूरा गर्नेगरी खाद्य संस्थानले चामल खरिदको लागि टेण्डर आह्वान गरिसकेको बताए ।
सचिव दुवाडीले सरकारले बजारको खाद्यान्नको आपूर्ति शृङ्खला बिग्रन नदिने गरी सप्लाई गरिहरेको दाबी गरे । उनले मुलुकको आन्तरिक उत्पादनले बजारको माग धान्न सक्ने अवस्था नभएको दाबी गरे । खाद्य कम्पनीले खरिद गर्ने धान र चामलको हिंसा पनि बजारको माग पूरा गर्नसक्ने परिणाममा नभएको उनको भनाई छ ।
सचिव दुवाडीले उत्पादन र मागको आधारमा करिब १ प्रतिशतको हाराहारीमा मात्रै धान वा चामलको मौज्दात सरकारसँग रहने अवस्था रहेको बताए । उनले सरकारसँग १० प्रतिशतको हाराहारीमा मौज्दात राख्न नसके बजारको आपूर्ति र मूल्यवृद्धि नियन्त्रण गर्नसक्ने अवस्था नहुने बताए । त्यसैले अहिले सरकार खाद्यान्नको स्टक बढाउने र बजारको मूल्यलाई नियन्त्रण गर्नेगरी क्रियाशील भएर काम गरिरहेको बताए ।
उनले भने ‘सरकारले समर्थन मूल्य तोके बमोजिम खाद्य संस्थानले अहिले धान खरिद गरिरहेको अवस्था छ । यो वर्ष किसानहरूले न्यूनतम समर्थन मूल्य भन्दा धेरै माथिको मूल्यमा धान बिक्री गर्न पाएको सूचना आएको छ । त्यसकारणले न्यूनतम समर्थन मूल्य तोकिनु, किसानले उत्पादन गरेको उत्पादनको मूल्यलाई संरक्षण गर्ने हिसाबले सफल भएको ठानेका छौं । तर उत्पादनको दृष्टिबाट हेर्दा कृषि मन्त्रालयबाट आएको सूचनाअनुसार धान यो वर्षको उत्पादन ५० प्रतिशतसम्म घट्नसक्ने भन्ने कुरा आएको छ । तराईको सम्पूर्ण धान भित्र्याएको तथ्याङ्क आइसकेको छैन । अहिले मुलुकको खाद्यान्नको आन्तरिक उत्पादनको हिसाबले कम्फटेवल अवस्थामा छैन । भण्डारको व्यवस्थामा पनि सरकारले न्यूनतम राख्नु मौज्दात पूरा गर्ने क्रममा छौं । धान खरिदमा कतै कमजोरी भयो भने कम खरिद गर्नसक्ने अवस्था हो भने चामलबाट पूरा गर्नुपर्छ भन्ने हिसाबले खाद्य संस्थानले चामल खरिदको लागि टेण्डर आह्वान गरिसकेको छ । त्यसबाट बजारको खाद्यान्नको आपूर्ति शृङ्खला बिग्रन नदिने गरी सप्लाई गर्ने क्रम जारी छ । हामी धेरै कम्फरटेबल अवस्थामा छैनौँ । मुलुकको आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्था छैन । कम्पनीले खरिद गर्ने धान र चामलको हिस्सा पनि बजारको माग पूरा गर्नसक्ने गर्ने परिणाममा छैन । उत्पादन र मागको आधारमा करिब १ प्रतिशतको हाराहारीमा मात्रै धान वा चामलको मौज्दात रहने अवस्था हुन्छ । अब १० प्रतिशतको हाराहारीमा मौज्दात राख्न नसक्ने हो भने बजारको आपूर्ति र मूल्यवृद्धि नियन्त्रण गर्नसक्ने अवस्था हुँदैन । त्यसैले सरकारले अहिले कसरी स्टक बढाउने र बजारको मूल्यलाई नियन्त्रण कसरी गर्ने भनेर सरकार क्रियाशील भएर काम गरिरहेका छौं ।’
खाद्य संस्थान तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले ४६ हजार क्विन्टल धान खरिदको तयारी गरेको बताए । उनले लक्ष्यअनुसार कम्पनीले धान खरिद गर्न नसक्ने अवस्था देखिएकाले २ लाख ९१ हजार क्विन्टल (२९१०० मेट्रिक टन) चामल खरिदका लागि टेण्डर आह्वान गरिसकेको बताए ।
उनले भारत सरकारबाट नेपाललाई प्राप्त भएको ९५ हजार मेट्रिक टन चामल आयात कोटामध्ये कम्पनीले आफ्नै आर्थिक स्रोतबाट २० हजार मेट्रिक टन र सरकारको आर्थिक सहयोग भएमा थप २० हजार मेट्रिक टन चामल खरिद गर्ने गरी आवश्यक पहल थालेको बताए ।
उनले भारत सरकारले नेपालमा चामल निर्यात गर्न स्वीकृत गरेको एजेन्सीले मूल्यको विषयमा विवरण नपठाउँदा चामल खरिदमा ढिलाइ भइरहेको बताए ।








