इन्जिनियरहरूले आफ्नो गरिमालाई बचाउने कुरामा ध्यान दिन आवश्यक छ : सीता गुरुङ

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरूलाई आफ्नो पदीय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गरेकी छन् ।

देश विकासको गर्विलो आधार र आम मानिसहरूले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरूले आफ्नो गरिमालाई बचाउने कुरामा ध्यान दिनुपर्ने मन्त्री गुरुङको भनाई थियो ।

बुधवारबाट काठमाडौंमा सुरु भएको नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले नेपाली जनताको विकासको तीव्र चाहनालाई सम्बोधन हुनेगरी पूर्वाधार विकासका काममा इन्जिनियरहरू लाग्नुपर्ने आवश्यकता पनि औँल्याइन् ।

मन्त्री गुरुङले पूर्वाधार निर्माणको कामलाई जनमैत्री बनाउनुपर्नेमा पनि इन्जिनियरहरू सचेत हुनुपर्ने बताइन् । उनले पूर्वाधार विकासका कारण जोखिमयुक्त अवस्था आउन नदिनका लागि सम्बन्धित पक्षहरुबीचमा बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।

मन्त्री गुरुङले भनिन् ‘इन्जिनियर सेक्टर भनेको देशको विकासको गर्विलो आधार हो है । त्यसैले पनि म सबै इन्जिनियरिङ सेक्टरमा रहनु हुने विभिन्न क्षेत्रमा जिम्मेवारी सम्हालेर बस्नु हुने व्यक्तित्वहरूसँग यी सबैले सम्मान गरेको र सबैले प्रतिष्ठाले हेरेको यो सेक्टर छ । यसको गरिमालाई बचाउने कुरामा पनि हामीले ध्यान दिनुपर्छ कि भन्ने चाहिँ लाग्छ । त्यसैले तपाईँहरूले नेपाल सरकारले गर्नुपर्ने जति पनि कुराहरू उठाउनुभएको छ । यसमा सम्माननीय प्रधानमन्त्रीज्युले सम्बोधन गर्नुपर्ने कुराहरू राखिसक्नु भएको छ । हामी पनि सम्बन्धित मन्त्रालय अन्तर्गत यी, यस्ता विषयलाई पक्कै पनि समेटेर लिएर जानेनै छौं । मैले अहिले धेरै कुरा गर्न पनि चाहिन । नेपालको भूगोल हिमाल, पहाड र तराई । अनि साँच्चै नेपालको उपयोगी भूमि कति छ भनेर हेर्ने हो भने हामीसँग थोरै मात्रै छ । यस्तो ठाउँ आम जनता हामीहरू छरिएर बसेका छौं । सबैको विकासका चाहना तीव्र छ । हाम्रो चाहना पनि सबैलाई घरदैलोसम्म विकासका पूर्वाधार पुर्याउन  भन्ने चाहना छ । यति हुँदाहुँदै पनि हामीले पुर्याउन  सकेका छैनौँ । र, पुर्याउनका निम्ति कोसिस गरिरहेका छौं । तर पनि समयमा काम नहुने, हामीले तयारी गरेको डिजाइनहरू साँच्चिकै प्रभावकारी नहुने, साँच्चिकै जनमैंत्री नहुने, जनमुखी नहुने । यी र यस्ता चुनौतीहरू पनि हाम्रो बीचमा भइरहेका हुँदा आगामी दिनमा यस्ता चुनौतीहरूलाई सामना गर्दै नयाँ टेक्नोलोजीको कुरा छ । जति हामीले पूर्वाधार विकासका कामहरु गरेका छौं । तर त्यसले धेरै जोखिमहरू पनि उठाइरहेको छ । यो जोखिम उठाउने कामको नजिकबाट देख्ने आँखा इन्जिनियरिङ आँखा नै हो । तर इन्जिनियरिङ आँखाले पनि यस्ता कुराहरूलाई ध्यान नराखी जाने हो भने अझ समस्याहरू बढ्दै जाने भएको कारणले गर्दाखेरि यो विषय पनि हामी सबैले समयमै सोच्नुपर्ने र यसलाई कार्यान्वयनमा लैजानुपर्ने अवस्था पनि मैले देखेको छु । यसमा तपाईँहरूको साथ र सहयोगको पनि अनुरोध गर्न चाहन्छु ।’

मन्त्री गुरुङले प्रभावकारी हुनेगरी पूर्वाधार निर्माणका लागि डिजाइनको काम गर्ने कुरामा पनि इन्जिनियरहरूलाई सचेत गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 10 =