सिक्रेदोभान पुल निर्माणले अझै लिएन गति

धुलिखेल । खोलापारि जग उठाएको वर्षौं भइसक्यो, यता खोलावारि पनि जग उठाएको पनि वर्षदिन बित्न लागिसक्दा पनि काम अगाडि नबढाउँदा पुलमाथि आवतजावत गर्ने सपना अझै पर धकेलिने चिन्ताले सताइरहेको छ डाँडापारीका बासिन्दालाई ।

काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र मकवानपुरको महाभारत गाउँपालिकाका नागरिक नजिकैको बजार र प्रदेश राजधानी हेटौँडा जोड्ने मोटर बाटोको पर्खाइमा रहेको वर्षौं बिते पनि बागमती खोलामा निर्माणाधीन उक्त पुलले अझै गति लिनसकेको छैन । निर्माण सुरु भएको पुलको काम अगाडि नबढेको भन्दै यहाँका बासिन्दाले निर्माण व्यवसायी र प्रदेश सरकारलाई पटक–पटक छिटो निर्माण सम्पन्न गर्न आग्रह गर्दै आएका छन् ।

जति आग्रह गर्दा पनि कामले गति लिन भने सकेको छैन । महावीर/शिखर/तामाकोशी जेभी कम्पनीले निर्माणको ठेक्का लिएको सो पुल अहिलेसम्म ढिलासुस्ती भइरहेको छ । पुल निर्माणका लागि अहिलेसम्म रु तीन करोड भुक्तानी भइसकेको छ । रु ११ करोडको लागतमा ठेक्का पाएको उक्त कम्पनीले विभिन्न बहानामा काम ढिलाइ गरिरहेको स्थानीय नागरिकको गुनासो छ । पुल नबनेकै कारण आवतजावतमा समस्या खेप्नु परिरहेको खानीखोला गाउँपालिका–६ का राजन अधिकारीले बताए ।

स्थानीय बासिन्दा र गाउँपालिकाले निर्माण व्यवसायीलाई छिटो काम गर्न धेरै पटक आग्रह गर्दा पनि थोरै काम गर्ने अनि धेरै समय चुप लागेर बस्दा सुविधा उपभोग गर्न नपाइएको उनको भनाइ थियो । ‘जिल्ला सदरमुकाम धुलिखेल, बनेपा र पनौतीसम्म जान गाडीमै पनि एक दिनको बाटो हिँड्नुपर्छ, उता मकवानपुरको भोर्लेनी र हेटौँडा जानुपरे पनि पुल निर्माण भए दुई घण्टा तीस मिनेटमा पुग्न सक्छौँ,’ अधिकारीले भने, ‘अहिले पुल नहुँदा यहाँका बासिन्दालाई दुवैतर्फ जान उत्तिकै समस्या छ ।’ डाँडापारिका बासिन्दाको अधिकांशको हेटौँडामा जग्गाजमिन भएको र बजारको पहुँच पनि नजिक भएकाले पुल निर्माण भए धेरै सहज हुने उनले बताए । अर्का स्थानीय बासिन्दा विष्णु तिमल्सिनाले अघिल्लो वर्षको जेठसम्ममा निर्माण सम्पन्न गर्ने भनिए पनि कम्पनीले अहिलेसम्म पनि चासो नदिएको गुनासो गरे ।

पटक–पटक मन्त्रीसहितको टोलीले गरेको अनुगमनका क्रममा यसैवर्ष सक्ने भन्दै फर्किने र वर्षौं बिताइरहँदा हामीले सेवा पाउन नसकेको उनको भनाइ थियो । नेकपा एमालेका नेतासमेत रहेका शेखर लामाले सिक्रेदोभान पुल छिटो सम्पन्न गर्न मन्त्रीस्तरबाटै पहल आवश्यक रहेको बताए । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले निर्माणलाई गति दिन पटक–पटक निर्माण व्यवसायी र मन्त्रालयमा कुरा राखे पनि कामले तीव्रता लिन नसकेको उल्लेख गरे । मन्त्रीसहितको टोलीले अनुगमन गरेर निर्माण व्यवसायीलाई कडाइ गर्ने बेलामा केही गरेकोजस्तो गर्ने र बिस्तारै सेलाउने खालको व्यवहार निर्माण कम्पनीबाट भइरहेको उनको गुनासो थियो ।

निर्माण व्यवसायी गोपाल खड्काले बाँकी काम अब छिट्टै थालनी गर्ने बताए । निर्माण गरिरहेको ठाउँ अप्ठ्यारोमा भएका कारण पनि ढिलाइ भइरहेको उनको भनाइ थियो । निर्माणस्थलसम्म पुग्न यसअघि बाटो खनेको करिब रु दुई करोड भुक्तानी पाउन बाँकी रहेको अर्का निर्माण व्यवसायी तामाकोशी निर्माण कम्पनीका विजय थापाले बताए । उनले थपे, ‘पुल निर्माण परियोजना दुई वर्षको थियो, त्यो समय त यहाँसम्म बाटो ल्याउनकै लागि खन्दैमा समय गयो । जङ्गल र चट्टान फोडेर बाटो बनाउन लागेको रकम अहिलेसम्म भुक्तानी पाइएको छैन ।’ तत्कालीन जिविस हुँदा लिखितरुपमा बैठकले निर्णय गरे पनि त्यसपछि जिविस भङ्ग भएर प्रदेश सरकार आए पनि त्यो बेला गरिएका निर्णय कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग थियो ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले पटक–पटक म्याद थप गरेर काम गर्छु र छिट्टै काम हुन्छ भन्ने मात्रै कुरा नगरी तत्काल परिणाम दिने गरी अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिए । गत वर्षदेखि ताकेता गर्न थालेपछि बल्ल अलिअलि गरेर काम भएको र यो वर्षमा सकाउने गरी कार्यालयमा सम्झौता गरिएको उनले बताए । ‘प्रदेश सरकारले पनि यसअघिका पुराना ठेक्का यो आर्थिक वर्षमा सम्पन्न गर्ने या तोड्ने भन्नेबारेमा बजेटमा नै घोषणा भएको छ’, मन्त्री दुलालले भने, ‘त्यहीअनुसार निर्माण व्यवसायीलाई काम सम्पन्न गर्नुपर्ने दबाब छ ।’ पुलसँगै प्रदेश सरकारले पिन्थली–रजवास–देवीटार–गोकुले–तालढुङ्गा सिक्रेदोभावन–भोर्लेनी हुँदै मकवानपुरको झुरझुरेको मदनभण्डारी लोकमार्ग जोडने जनमुक्ति मार्ग सडकको काम पनि अगाडि बढिरहेको उनले बताए ।

झुरझुरेदेखि सिक्रेदोभावनसम्म एक खण्ड, सिक्रेदोभानदेखि तालढुङ्गासम्म अर्कोखण्ड गरी करिब १३–१४ किलोमिटरको काम ठेक्का आह्वान गरी पक्की गर्ने काम यसैवर्ष अगाडि बढ्ने र सो सडकखण्डको काम गर्नुअघि पुल निर्माणको काम सकिनुपर्ने छ । अर्को वर्षसम्ममा तालढुङ्गा–भोर्लेनी–झुरझुरे खण्डको सडक स्तरोन्नति भएर यस भेगको यातायात सहज हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seven =