मेलमिलाप दिवस

प्रधानमन्त्रीको अनुमान : बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र बिरुद्धको डिजाइन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन भएको बताएका छन् ।

सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइनको रुपमा भएको आफूले अनुमान गरेको बताए ।

उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको बताए । उनले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको बताए । घटनाको अन्तर्यमा अरु नै केही कुरा भएको उनको भनाई छ ।

उनले मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताए । उनले जनतालाई निराशा बाँडिएको भन्दै देशमा अँध्यारो बाहेक केही नदेखाउनेहरू राष्ट्रवादी हुन नसक्ने बताए ।

उनले भने ‘अस्तिको घटनाको कुरा भन्ने हो भनेपनि यस्तो त हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन । म त्यो दिन पूर्व निर्धारित कार्यक्रममा दोलखामा थिएँ । आउँदा आउँदा नै मैले थाहा पाएँ । पाएपछि अविलम्ब तुरुन्तै अर्को दिन बिहान घटनाक्रमको ब्रिफिङ लिइयो । म अहिले सबै भन्न चाहन्न । केही चिज गम्भीर लागेको छ । सामान्य छैन यो । त्यो दुईजना युवाहरूको जस्तो परिवेशमा, जसरी हत्या भएको छ । ईपिएसमा जे–जस्ता गतिविधि भएका छन् । गाडी जलाउने जस्तो–जस्तो गतिविधि भएको छ । यो थिङ्स आर नट ह्वाट दे सिम् भनेजस्तो छ । चिज त्यस्तो छैन । जस्तो देखिएको छ । त्यो भित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन कतै त छैन भन्ने मेरो अहिले कुनै प्रुफ होइन । त्यसैकारण मैले तुरुन्त नै त्योसँग सम्बन्धितलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्छ यसलाई । सामान्य छानबिन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालेर मृतकका परिवारलाई समेत बालुवाटार बोलाएर गम्भीर ढंगले समीक्षा गरिएको छ । आज बिहान मात्रै क्याबिनेटबाट हामीले सरकारले गर्नुपर्ने र गर्न सक्ने जति काम तुरुन्तै गरिएको छ । परिवारलाई रोजगारी दिने कुरा, सहिद घोषणाका कुरा छन् त्यो हामी राजनीतिक तहमा छलफल गर्दैछौँ । सरकारले पहल लिएकै छ नि चाहे भूकम्प होस् । चाहे यस्ता घटनाहरूमा । यो भाष्य के त्यो गाडी जलाउने बेलामा मन्त्रीलाई नै भित्रै जलाउनुपर्थ्यो छोडेछन् भन्ने भाष्य के भाष्य हो यो ? आज मैले आज एउटा न्युज हेरेँ शेरबहादुरजी, मेरो र केपी ओलीको । यिनलाई गोली ठोकेर टाउको काटेदेखि म २०÷२० लाख दिन्छु भन्ने प्रचार भइराखेको छ । के भाषा हो यो रु के संस्कार हो यो ? लोकतन्त्रमा यस्तो हुन्छ र ? जनतलाई निराशा बाँड्ने । अँध्यारो देखाउने । अँध्यारो बाहेक देशमा केही छैन भन्ने कोही राष्ट्रवादी हुन सक्दैन । जनतालाई आशा देखाउन सक्नुपर्छ राजनीतिक नेतृत्वले । भएका कमी स्विकार्न पनि आँट गर्नुपर्छ । गरेका राम्रा काम स्थापित गर्न पनि आँट गर्नुपर्छ । हाम्रो अगाडी त्यही जिम्मेवारी छ ।’

प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामहरूको प्रशंसा गर्न नहिचकिचाउन सत्तारुढ दल नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरूलाई अपिल गरे । उनले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सहमति भएको पनि बताए ।

प्रधानमन्त्री दाहालले नेपालका राजनीतिक दलका समकालीन नेताहरू कुनै न कुनै रुपमा बिपी कोइरालाकै स्कुलिङबाट दीक्षित भएका बताए । उनले बिपी कोइरालालाई नेपाली राजनीतिको मूर्धन्य व्यक्तित्वको रुपमा चित्रण पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =