पटेरले ल्याएको परिवर्तन– दुई छोरीको फार्मेसी र ल्याब पढाई

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ बस्ने ४० वर्षीया कल्पना चौधरीलाई १२ वर्षअघि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउँथ्यो । श्रीमान्को पनि रोजगारी नभएकाले सामान्य खेतीपातीले घर धान्न कल्पनालाई मुस्किल थियो । छोराछोरीलाई पढाउन अर्कैको घरमा मजदुरी गर्नुपर्थ्यो तर अहिले घरखर्च चलाउनमात्र होइन, दुई छोरीलाई पढाउनसमेत चिन्ता छैन ।
उनीले दुई छोरीलाई फार्मेसी र ल्याब पढाउँदै आएकि छिन् । ठूली छोरी फार्मेसी र कान्छीले छोरी ल्याब पढ्दै छिन् । अहिले कल्पनाले घर खर्च र छोरीलाई पढाउनेदेखि छिमेकीलाई परेको बेला सरसापट पनि दिने गर्छिन् ।
उनीको जीवनमा एक्कासि यो परिवर्तन भने आएको होइन । गाउँमा त्यसै खेर गएको पटेर ९गुन्द्री, चकटीलगायत हस्तसामग्री बनाउन प्रयोग हुने एक प्रकारको घाँस (यो घाँस पानी जमेको ओसिलो ठाउँमा उम्रने गर्छले उनीको जीवनमा परिवर्तन ल्याएको हो । ‘बाह्र वर्षअघि छिमेकी गाउँकी दिदी पोखरा गएकि थिइन्, त्यहाँ उनले एक मेलामा पटेरबाट बनेका हस्तसामग्री देखेकि रहेछिन् । मेलामा त्यसबारे सोधीखोजी गरेपछि यहाँ आएर उनीले पटेरबाट बन्ने सामग्रीको तालिम दिन थालेपछि धेरै महिला अहिले आत्मनिर्भर बनेका हुन्’, कल्पना भन्छिन् ।
पटेरबाट हस्तसामग्री बनाउन इच्छुक भएपछि घरेलु कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले महिलालाई तालिम दिन थालेको थियो । त्यही तालिमबाट अहिले धेरै महिलाले सीप सिकेर जीविकोपार्जनको माध्यम बनाएको कल्पनाको भनाइ छ । पटेरबाट सुकुल, पिर्का, मुढा, गुन्द्री, म्याट, कलमदानी, टोपी, चकटीलगायत सामान बनाउने गरिएको छ । तिनै सामान बेचेर छोरीलाई मेडिकल पढाइ गराउन सकेको उनी बताउछिन् ।
कल्पनामात्र होइन उनकै छिमेकी किशुनकुमारी चौधरीको पनि पटेरले आर्थिक जीवन नै परिवर्तन गरिदिएको छ । पटेरकै सामग्री बेचेर उनीले करिब तीन कठ्ठा जग्गा किनेकि छिन् । वार्षिकरूपमा एक जनाले करिब रु १० लाखबराबरको पटेरका सामान बेच्ने गरेको किशुनकुमारीको भनाइ छ । खर्च कटाएर मासिक रु ४० देखि ५० हजार बचत हुने गरेको किशुनकुमारी बताउछिन् । उत्पादन भएको सामान बेच्न उनीहरूलाई समस्या छैन । सजिलैसँग सामान बिक्री हुने गरेको छ । कहिलेकाहीँ त सामान पुर्याउनै मुस्किल हुने उनीहरूको भनाइ छ । उक्त सामान ठूला–ठूला होटलमा जाने गरेका छन् । होटलबाट म्याट, टोपी, सुकुललगायत सामानको माग बढी छ । ‘बजारको समस्या नै छैन । माग बढी भएकाले कहिलेकाहीँ त पुर¥याउँनै सकिन्न’, कल्पना भन्छिन् ।
होटलबाहेक पनि अन्य पसलबाट माग आउने गरेको छ । सबैभन्दा बढी ठूला मुडा, सुकुल, चकटीको माग हुने गरेको छ । माग भएका सामान भने स्थानीय बजार क्षेत्रबाट चल्ने सार्वजनिक बसमा पठाउने गरेको उनी बताउछिन् । ‘उधारो खासै हुँदैन सबैजसो नगदै हुन्छ । कसैले त अग्रिम पैसा पठाउछिन्’, किशुनकुमारी भन्छिन् । आफूहरूले उत्पादन गरेको सामान विदेशीले पनि मन पराएको सुनेको जानकारी दिँदै उनी भन्छिन्, ‘होटलबाट फोन आउँदा विदेशीले पनि मन पराएका छन् भन्छन् । सरकारले पटेर उद्योग सञ्चालनका लागि सहयोग गरेर विदेश पठाउने वातावरण मिलाए धेरै महिलाका लागि यो पेसा रोजगारीको माध्यम बन्ने थियो ।’
सुरुमा समूह बनाएर काम गर्दै आइएकामा अहिले कल्पना र किशुनकुमारीले छुट्टाछुट्टै निजी फार्म दर्ता गरेर व्यवसाय नै सञ्चालन गरेकि छिन् । सुरुमा पाँच हजार ट्र्याक्टरको दरले तीन ट्र्याक्टर पटेरको बीउ (गाभा) किनेर खेतमा रोपेको उनीहरूको भनाइ छ । एकपटक गाभा गाडेपछि धेरै समय उम्रिने र बीउसमेत हुने गरेपछि अहिले समस्या हुने गरेको छैन । पहिला सामान्य खेतमा पटेर लगाएका उनीहरूले अहिले छ बिघा घोल खेत ९पानी जम्ने खेत० भाडामा लिएर पटेरखेती गर्दै आएका छन् । यसले गर्दा कच्चा पदार्थको समस्या छैन ।
दुवैजना अहिले पटेरसम्बन्धी हुने तालिमका लागि प्रशिक्षकसमेत बनेका छन् । स्थानीय तह र अन्य कार्यालयले आयोजना गर्ने तालिममा आफूहरूलाई प्रशिक्षकका रूपमा बोलाउने गरेको कल्पना र किशुनकुमारीको भनाइ छ । सुस्ता र प्रतापपुर गाउँपालिकाको क्षेत्र पटेर खेतीका लागि उत्तम छ । पटेरका सामग्रीको माग बढेपछि अहिले ती दुई गाउँपालिकाका करिब दुई सय बढी महिलाले यसलाई आम्दानीको स्रोत बनाएका छन् ।
आफूले उत्पादन गरेका मात्र होइन अन्य महिलाले बनाएका सामान पनि दुवै जनाले खरिद गरेर बाहिर पठाउने गरेका छन् । आफूहरूले उत्पादन गरेको सामग्री चितवन, पोखरा, बुटवल र काठमाडौँमा जाने गरेको उनीहरू बताउछन् ।
‘घरमा सहजै बसेर बनाउन सकिने भएकाले यसप्रति महिलाको आकर्षण बढेको हो । गाउँका महिलाले उत्पादन गरेका सामान पनि हामी आफैँंले खरिद गरिदिन्छौँ । बजारमा बिक्री हुन नसके महिलाले हामीलाई ल्याएर दिन्छन्’, किशुनकुमारी भन्छिन् । आफूहरू पूरै दिन यो पेसामा लागे पनि गाउँका महिलाले भने फुर्सदमा मात्र सामान बनाउने गरेका छन् । ‘धेरै महिला घरायसी काम र अन्य काममा लाग्ने भएकाले पूरा समय दिँदैनन् फुर्सद निकालेर काम गर्छन्, त्यति गर्दा पनि एक महिलाले मासिक रु १२ देखि रु १५ हजारसम्म कमाउने गरेका छन्’, कल्पना भन्छिन् ।
पटेरखेतीलाई प्रोत्साहन गर्न सुस्ता र प्रतापपुर गाउँपालिकाले लघुउद्यम शाखामार्फत तालिम सञ्चालन गर्दै आएका छन् । ‘पटेरलाई उद्यमकै रूपमा अगाडि बढाउन पालिकाले बजेट छुट्याएर तालिम र अन्य आवश्यक सहयोग गर्दै आएको छ’, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव भन्छन् ।








