आशय र उद्देश्य स्पष्ट नभएको भन्दै टेरामक्स खरिद प्रक्रिया रोक्न सांसदहरूको माग

काठमाडौँ । टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सांसदहरूले खरिद प्रक्रिया रोक्न माग गरेका छन् ।
बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरूले टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको धारणा व्यक्त गरेका हुन् ।
उनीहरुले यसको खरिद प्रक्रिया रोक्न माग समेत गरेका छन् । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टेरामक्स खरिदको आशय र उद्देश्य स्पष्ट नभएको बताए ।
उनले यसको सबै प्रक्रियाहरूमा आशंका गर्ने आधारहरू प्रशस्त भएको बताए । उनले नियामक निकाय दूरसञ्चार प्राधिकरण नै टेरामक्स किन्न तयार हुनुले आशंका उब्जाएको बताए ।
उनले भने ‘स्पष्ट रुपमा देखाएको छ यसको आशय र उद्देश्य स्पष्ट छैन । आशंका गर्ने प्रशस्त आधार छ । निर्णय नभइकन, स्पष्टकारी नीति नभइकन पूरक बजेट दिँदाखेरीको मन्त्री को हुनुहुन्थ्यो ? किन दिनुभयो उहाँले ? त्यहाँ प्रश्न उठ्छ त्यसको छानबिन गर्न पनि । अहिले नेशनल एजेन्ट को हुनुहुन्छ ? त्यो बेलाको मन्त्रीसँग के सम्बन्ध थियो ? कल डिटेल्सका लागि चाहिने आधारभूत इन्फरमेसन त हाम्रो आफ्नै टेलिकम सर्भिस प्रोभाइडर कम्पनीसँग छ भन्ने कुरा उहाँहरुले जानकारी गराउनुहुन्छ । हामीसँग चाहिने कुरा छ भने हाम्रो अदालतले जुन कुराले हामीलाई अधिकार दिएको छैन त्यो कुरामा पनि हामी किन लालायित भइरहेका छौँ त्यो कुराहरू किन्नका लागि ? नियामक निकायहरूले नियम बनाउने, त्यसको वातावरण बनाउने, त्यसको लागि अन्तर्राष्ट्रिय स्तरमा कस्तो अभ्यास भइरहेको छ त्यो अनुसार हाम्रो स्ट्याण्डर्ड बढाउने कि आफैँ सामानहरू किन्ने ?’
नेकपा(एमाले)का सांसद गोकुल बाँस्कोटाले टेरामक्स प्रकरणको छानबिन गर्न विज्ञ सम्मिलित छानबिन समिति बनाउन सकिने धारणा राखे । उनले टेरामक्स खरिद सम्झौता मन्त्रालयले समितिलाई दिनुपर्ने माग राखे । लेबनानबाट खरिद गरेर साइप्रसमा पैसा तिर्नुपर्ने सम्झौता भएको भन्दै यसप्रति आशंका व्यक्त गरे ।
उनले भने ‘समितिको क्षमताले खरिद प्रक्रियाको विषयमा टुंगो लगाउन सक्दैन भने विज्ञहरू सम्मिलित छानबिन समिति बनाए हुन्छ । सम्झौतापत्र चाहिँ कहाँ छ ? मेरो विचारमा यो आवश्यक छैन । मन्त्रालयले त्यो कपि समितिलाई उपलब्ध गराउनुपर्छ । विदेशीसँग किनिएको नेपाली रुपैयाँमा तिर्ने भनिएको छ । लेबनानमा खरिद गर्ने पेमेन्ट साइप्रसमा गर्ने भनिएको छ ।’
नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले टेरामक्स बेकारको प्रविधि भएको टिप्पणी गरे । उनले लेबनान आफैँ असहज परिस्थितिमा रहेको भन्दै लेबनानबाट प्रविधि खरिद गर्ने सम्बन्धमा प्रश्न उठाए । खरिदबिक्री अपारदर्शी भएको उनको भनाई छ ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले टेरामक्स खरिद प्रक्रिया कानुनसम्मत नभएको बताए । उनले सर्वोच्च अदालतको व्याख्या विपरीत प्रक्रिया अगाडी बढेको बताए ।
उनले कानुन नबनाईकन टेरामक्ससँग सम्बन्धित कुनै प्रक्रिया अगाडी बढाउनु नहुने बताए । उनले अन्य समितिहरूले लेखा समितिको क्षेत्राधिकार मिचेका पनि बताए ।
उनले भने ‘टेरामक्स खरिदका लागि जुन तरिकाले प्राधिकरण अगाडी बढेको छ, कानुनसम्मत छैन । सर्वोच्च अदालतको व्याख्याको विपरीत छ । यस्तो संवेदनशील विषयमा कानुन नबनाई किन अगाडी बढियो ? कानुन नबनी यसलाई अगाडी बढाउनु हुँदैन । जबसम्म कानुन बन्दैन तबसम्म टेरामक्स कुनैपनि लागू हुँदैन । तुरुन्त रोक्नुपर्छ । लेखा समितिलाई पंगु बनाउने काम भएको छ । लेखा समिति अगाडी बढेको काममा अरु समिति अगाडी बढेको छ । दूरसञ्चार प्राधिकरण खुफिया एजेन्सी होइन ।’
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले टेरामक्स प्रकरणमा पैसाको लेनदेन अपारदर्शी भएको बताए । उनले यो प्रकरणमा माफियाहरूले अख्तियार, अदालत र समितिलाई घुमाउने गरेको र उनीहरुले नै यो काम गर्ने गरेको बताए ।
नेकपा९एकीकृत समाजवादी०का सांसद प्रेम आलेले नेपालमा टेरामक्स नचाहिएको बताए । उनले यसको आवश्यकता नपरेको भन्दै खरिद प्रक्रिया यथास्थितिमा रोक्न माग गरे । उनले छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने पनि बताए ।
उनले भने ‘नेपालमा टेरामक्स चाहिएकै छैन । सर्वोच्च अदालतले रोक्दारोक्दै अगाडी बढाइएको छ । भन्सार सम्म दूरसञ्चार प्राधिकरण आफैँले ति¥यो । यो आवश्यक छैन । यथास्थितिमा रोकौँ । राज्यलाई कंगाल बनाउने काम गर्नेसँग बोलाएर अन्तरक्रिया गरौँ । छानबिन समिति पनि गठन गरौँ ।’
उनले यसको प्रक्रियामा संलग्नहरूलाई समिति बैठकमा बोलाएर छलफल गर्नुपर्ने बताए ।








