महोत्सव उद्घाटन गर्न बाग्लुङ पुग्दै राष्ट्रपति पौडेल

काठमाडौं । सातौँ बागलुङ महोत्सव आजबाट सुरु हुँदैछ । महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिने भएको हो ।

महोत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ पुग्दैछन् । बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने तोरण टाँगेर बजारलाई सिँगारिएको छ । महोत्सवको सबै तयारी पूरा भएको छ । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले भने, ‘राष्ट्रपतिलाई स्वागत गर्न बजारवासी आतुर छौं । महोत्सवको उद्घाटन गर्न राष्ट्रपति आउने भएपछि बागलुङबासी उत्साहित भएका छन् ।’

राष्ट्रपति पौडेल केहीबेरमा बागलुङ आइपुग्ने संघका अध्यक्ष कँडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेलले बागलुङको प्रसिद्ध ऐतिहासिक शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका –४ कुँडुलेमा रहेको शालिग्राम संग्रहालयको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

मन्दिर दर्शनपश्चात दिउँसो १ बजे धौलागिरी बहुमुखी क्याम्पसको मैदानमा राष्ट्रपति पौडेलले महोत्सवको उद्घाटन गर्नेछन् । महोत्सवको उद्घाटनका अवसरमा विभिन्न जातजातिका झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनी गरिने भएको छ ।

महोत्सवमा व्यावसायिक प्रयोजनका लागि एक सय  ६९ वटा स्टल तयार पारिएको छ । महोत्सवमा बागलुङका स्थानीय उत्पादनको बिक्री–वितरणका लागि स्टलको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =