अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्ककमल दाहालले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने बताएका छन् ।
मंगलवार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने बताएका हुन् ।
उनले संसारको कुनैपनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्ने बताए । अब मेरिटोक्रेसी सुरु हुने र त्यसको प्रस्थान बिन्दु त्रिभुवन विश्वविद्यालय हुने उनले बताए ।
प्रधानमन्त्री दाहालले शिक्षामा गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न सरकारले बहुआयामिक कदम चाल्ने बताए ।
उनले भने ‘अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुने छैन । संसारको कुनैपनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्नेछन् । अब मेरिटोक्रेसी सुरु हुनेछ । त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थान बिन्दु बन्दैछ । नेपालका विश्वविद्यालयहरू रित्तिँदै जाने, युवा शक्तिसँगै पुँजी पनि पलायन हुने डरलाग्दो अवस्था अन्त्य गर्न तथा शिक्षामा गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न बहुआयामिक कदम चालिँदै छ । विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरुरी शिक्षा विधेयक मैले संसदमा पेस गरेँ । कमी, कमजोरी सच्याइ पारित गर्न प्रतिबद्ध छु । विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउन हुँदैन भन्ने हाम्रो निष्कर्ष छ । यसमा म आम शिक्षक, राजनीतिक दल, र अन्य सरोकारवालाको साथ चाहन्छु ।’
उनले विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउनु नहुने भन्दै यसको निम्ति सरोकारवाला सबैको साथ चाहेको बताए । यसै वर्षदेखि शिक्षक, विद्यार्थी अनुपातमा पनि सुधार गरिने बताए ।








