मेरो हुटहुटी अनुसारको परिणाम आएको छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको बताएका छन् ।
मंगलवार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरूप हुन नसकेको स्वीकार गरेका हुन् ।
उनले सरकार असफल भने नभएको बताए । उनले अबका दिनमा सरकारको कार्यशैली बदलिने बताए । उनले आगामी दिनमा आफू पूर्व निर्धारित र अपरिहार्य बाहेकका कुनैपनि बाहिरी कार्यक्रममा नजाने बताए ।
उनले बाहिर नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने बताए ।
उनले भने ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआई जडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदै छ । प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले सुरु गरिसकेको छु । आज म देशवासीमा स्वीकार गर्दछु कि सरकार असफल त भएन । तर मेरो आफ्नै हुटहुटी अनुसारको परिणाम पनि आएको छैन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमिक्षामा छु । यही चिन्ता र आत्मसमिक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दु हुनेछ । यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिङ्गो राज्यका लागि यो संकेत र सन्देश हुनेछ ।’
प्रधानमन्त्री दाहालले यहीँ साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताए ।








