अर्थमन्त्रीको दाबी– अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ(भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् ।

मंगलवार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरे ।

अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताए ।

उनले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पुर्‍याउन सकिने दोहोर्‍याए । अर्थमन्त्री महतले देश भित्रै केही गर्न युवाहरुलाई पनि आह्वान गरे ।

नेपालमा केही छैन भन्ने सोचेर बाहिर जाने भन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढनुपर्ने उनको भनाई थियो । देशमा धेरै गर्न बाँकि रहेकाले अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न युवा उद्यमीहरुलाई आग्रह गरे ।

उनले चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व–पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने घोषणा गरे ।

मन्त्री महतले भने– ‘अब आर्थिक डेटाहरुले, तथ्यांकहरुले अव अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ । यो अवसरलाई ग्रयाप गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी छ भन्ने मलाई लाग्छ । त्यो भयो भने नेपालको अर्थतन्त्रले एउटा जम्फ स्टार्ट गर्छ । यहाँको हाईड्रो पावर, एग्री विजनेस, कृषि व्यवसाय, पर्यटन र आईटी सेक्टरले मुलुकको अर्थतन्त्रलाई माथि पुर्‍याउने निश्चित छ । यही अवसरहरु छन् । म युवाहरुलाई पनि अनुरोध गर्न चाहन्छु–नेपालमा केही पनि छैन भन्ने किसिमले सोच्यो भने केही पनि देखिँदैन । देशभित्रै खुशीयाली सृजना गर्न सकिन्छ । यो देशमा धेरै गर्न बाँकि भएको हुनाले अवसर पनि यही देशमा छ । त्यो अवसरलाई युवा पिँढीले ग्रयाप गर्न, उद्यमीहरुले त्यो अवसरकालाई उपयोग गर्न पनि म अनुरोध गर्न चाहन्छु । जहाँसम्म यो पूर्व चितवनको कुरा छ । अब हामी यो इष्ट–वेष्ट हाईवे ६ लेनको गर्दैछौं । र पश्चिमी चितवनमा त थोरै भाग इष्ट–वेष्ट हाईवेको पर्छ । त्यसमा करिव बनिसकेको छ । अब पूर्वी चितवनमै लगानी हुन्छ । ६ लेन र जंगल क्षेत्रमा ४ लेनको बाटो बिस्तार गर्ने कुरालाई हामी अगाडि बढाउछौ । त्यसले पनि यहाँको यातायाताको असहजतालाई कम गर्ने, आवतजावत सहज हुने, लागत कम हुने कुरा सुनिश्चित गर्छ । र, त्यसले यहाँको पर्यटन पनि मद्दत गर्छ । यहाँबाट हेटौंडा ६ लेन, ४ लेन हुने बित्तिकै त्यहाँबाट दु्रतमार्ग जोडिएपछि मलाई लाग्छ–डेढ घण्टामै पूर्वी चितवन आउने परिस्थिति निर्माण हुन्छ । त्यसले पनि यहाँको पर्यटन व्यवसायलाई अगाडि बढाउँछ । र चितवन र पूर्वी चितवनको आकर्षणलाई बढाउँछ भन्ने कुरामा दुईमत छैन । निकुञ्जसम्बन्धि ऐन परिमार्जन हुन्छ । आएको पैसा उतै जाने विधिलाई हामी मान्दैनौं । किनकी यो कामको विषयमा पनि नेपालमा भएको हो भन्ने मलाई लागेको छ । नेपालको वर्तमान अवस्थामा यो कुरा पनि भएको छ । फेरि पनि समस्या भएको छ । ’

त्यस अवसरमा अर्थमन्त्री महतले निकुञ्जसम्बन्धि पुरानो ऐन सरकारले संशोधन गर्ने आश्वासन समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =