देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी भएको बताएका छन् ।
मंगलवार ज्यापु संस्कृति विकास कोषले २० औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको सांस्कृतिक परम्परालाई जर्गेना गर्नु साझा जिम्मेवारी भएको बताएका हुन् ।
उनले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश भएको उल्लेख गर्दै देशको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको बताए ।
उनले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव रहेको बताए । प्रधानमन्त्री दाहालले नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य निधी भएका पनि बताए ।
उनले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु पनि राष्ट्रको दायित्व भएको बताए । उनले सरकार भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।
उनले भने ‘नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश हो । भौगोलिक रूपमा सानो भएता पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको छ । विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव हो । यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो । नेपालका चाडबाड, जात्रापर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य निधी हुन् । नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अङ्गको रूपमा लिइआएका छन् । यस राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौं उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुहरूबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकहरूबिच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु । सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कारहरू चल्दै आएका छन् । यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको छ । तिनीहरूको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व हो । यसै कुरालाई मनन गरी नेपाल सरकारले भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध छ ।’
प्रधानमन्त्री दाहालले ज्यापु संस्कृति कोषलाई सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।








